Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

लाखौं ठगेर हेटौंडाको प्रोटोन कन्सल्टेन्सीका संचालक फरार, विद्यार्थीको बिचल्ली


हेटौंडामा अवैध रूपमा सञ्चालन हुँदै आएका शैक्षिक कन्सल्टेन्सीहरूको वास्तविकता फेरि एकपटक उदांगो भएको छ। विद्यार्थीलाई विदेश पठाइदिने सपना देखाएर लाखौं रुपैयाँ असुल्ने र अन्ततः सञ्चालक नै फरार हुने प्रवृत्तिले यहाँको वैदेशिक शिक्षा क्षेत्र गम्भीर संकटतर्फ धकेलिएको छ।

ADVERTISEMENT

हेटौंडा कान्तिराजपथमा सञ्चालन हुँदै आएको ‘प्रोटोन एजुकेसन कन्सल्टेन्सी’ विद्यार्थीबाट असुलिएको लाखौं रकम लिएर सम्पर्कविहीन बनेपछि पीडित विद्यार्थीहरू बिचल्लीमा परेका छन्।

विगत केही वर्षदेखि कुनै पनि सरकारी निकायमा दर्ता नगरी सञ्चालन भइरहेको उक्त कन्सल्टेन्सीले जापानीज भाषा कक्षा, वैदेशिक अध्ययन परामर्श तथा रोजगारको ग्यारेन्टीका नाममा विद्यार्थीहरूबाट चर्को रकम असुल्दै आएको थियो। अहिले भने कार्यालयमा ताला लगाइएको छ, बाहिर राखिएको बोर्डसमेत हटाइएको छ र सञ्चालक सम्पर्कविहीन बनेका छन्।

पीडित विद्यार्थीहरूका अनुसार जापान पठाइदिने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म रकम उठाइएको थियो। “सबै प्रक्रिया पूरा भयो, अब रकम बुझाएपछि जापान जाने काम अघि बढ्छ भनियो,” नाम नबताउने सर्तमा एक विद्यार्थीले भनिन्, “हामीले विश्वास गरेर रकम बुझायौं। अहिले फोन गर्दा कहिले काठमाडौं छु, कहिले व्यस्त छु भनेर टार्ने मात्र गर्छन्। अहिले त फोन नै उठाउन छोडेका छन्।”

विद्यार्थीहरूका अनुसार कन्सल्टेन्सीले जापान मात्र होइन, अन्य विभिन्न देशमा अध्ययन तथा रोजगारीको अवसर मिलाइदिने भन्दै आकर्षक विज्ञापनमार्फत युवाहरूलाई प्रलोभनमा पार्ने गरेको थियो। “ग्यारेन्टी” शब्दको दुरुपयोग गर्दै ठूलो रकम असुल्ने र कुनै कानुनी आधारबिना सञ्चालन भइरहेका यस्ता संस्थाले अहिले सयौं युवाको भविष्य नै अन्योलमा पारेका छन्।

हामीले प्रोटोनका संचालक राजन नाम गरेका व्यक्तिलाई सम्पर्क गर्दा उनले ‘कन्सल्टेन्सी होइन काठमान्डौ पर्यो’ भन्दै फोन काटिदिए, त्यसपछि फोन उठाएनन् । उनले पटक-पटक बहाना बनाउने र विद्यार्थीहरुको फोन नै नउठाउने गरेको पिडित विद्यार्थीले बताएका छन् ।

लामो समयदेखि बिना दर्ता सञ्चालन भइरहेका कन्सल्टेन्सीमाथि बेलैमा निगरानी र कारबाही नहुँदा हेटौंडामा विद्यार्थी ठगिने क्रम बढेको हो । पछिल्ला केही दिनयता जिल्ला प्रशासन कार्यालय मकवानपुरले अवैध कन्सल्टेन्सीमाथि अनुगमन तीव्र बनाएपछि धेरै संस्थाले हतारहतार बोर्ड हटाउने, कार्यालय बन्द गर्ने र सम्पर्कविहीन बन्ने क्रम बढेको छ।

यस घटनाले हेटौंडामा मौलाउँदै गएको अवैध कन्सल्टेन्सी धन्दाको भयावह अवस्था उजागर गरेको छ। केही संस्था पूर्ण रूपमा बिना दर्ता सञ्चालन भइरहेका छन् भने कतिपयले फर्जी कागजातका आधारमा दर्ता तथा नवीकरण गरिरहेको आरोपसमेत लाग्दै आएको छ। सामाजिक विकास मन्त्रालयले हाल नयाँ दर्ता तथा नवीकरण प्रक्रिया रोकेको अवस्था भए पनि विद्यार्थी ठग्ने क्रम भने रोकिएको छैन।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय अनुगमनलाई तीव्र बनाए पनि पीडित विद्यार्थीहरू भन्छन्— “कारबाही सुरु हुनु राम्रो हो, तर हाम्रो पैसा र भविष्य कसले फिर्ता दिन्छ ?”


प्रकाशित मिति : मङ्लबार, २०८३ जेष्ठ ५, १८ :२१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट