Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

सुकुम्बासी समस्या समाधानमा मेयर–उपमेयर नै बाधक- वडाध्यक्ष कोइराला


हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा उपमहानगरपालिकाका मेयर र उपमेयर नै बाधक बनेको आशय व्यक्त गरेका छन्।

ADVERTISEMENT

हेटौंडामा आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले उपमहानगरपालिकाको दोस्रो कार्यकालमा जनताका समस्या समाधानका लागि अपेक्षाअनुसार काम गर्न नसकिएको गुनासो गरे। निवर्तमान मेयर हरिबोल महतको कार्यकालमा जुन गतिमा काम गर्न पाइएको थियो, अहिले त्यस्तो वातावरण नरहेको उनको भनाइ छ।

कोइरालाका अनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि वडा नम्बर १६ बाट मात्रै ३९ जनाको लगत संकलन गरी उपमहानगरपालिकामा पठाइएको छ। तर, पटकपटक कार्यपालिका बैठकमा विषय उठाउँदा समेत समस्या समाधानका लागि ठोस पहल हुन नसकेको उनले बताए।

आफू कार्यपालिका सदस्यसमेत भएकाले बैठकमा पटकपटक आवाज उठाए पनि मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबाट अपेक्षित सुनुवाइ नभएको उनको गुनासो छ।

उनले सुकुम्बासीको समस्या मात्रै नभई क्यान्सरपीडित तथा दीर्घरोगीलाई उपचारका लागि ५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने विषयमा समेत आफूले कार्यपालिकामा आवाज उठाएको बताए। अन्य स्थानीय तहमा यस्ता बिरामीलाई सहयोग गर्ने अभ्यास रहे पनि हेटौंडा उपमहानगरपालिकामा आफूले उठाएको विषयले प्राथमिकता पाउन नसकेको उनको भनाइ छ।

‘सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या होस् वा क्यान्सरपीडित तथा दीर्घरोगीलाई उपचार सहयोग गर्ने विषय, मैले पटकपटक आवाज उठाएको छु। तर, पालिकाबाट कुनै सुनुवाइ भएको छैन। यस्ता समस्या समाधान गर्न कहाँ काम रोकिएको हो र कसका कारण रोकिएको हो, अब आफैँ बुझ्नुस्,’ कोइरालाले भने।

मकवानपुरकै मकवानपुरगढी र मनहरी गाउँपालिकालगायतका स्थानीय तहमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको काम अघि बढेको र पुर्जा वितरणसमेत भइसकेको अवस्थामा हेटौंडामा भने समस्या समाधान हुन नसकेको उनको आशय थियो।

स्थानीय तहले जनतासँग प्रत्यक्ष जोडिएका समस्या समाधानमा प्राथमिकता दिनुपर्ने भए पनि उपमहानगरपालिकाको नेतृत्वबाट आवश्यक तत्परता नदेखिएको कोइरालाको आरोप छ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या र विपन्न तथा दीर्घरोगीलाई उपचार सहयोग गर्ने विषयमा जनप्रतिनिधिबीच देखिएको असन्तुष्टिले हेटौंडा उपमहानगरपालिकाभित्रको कार्यसम्पादन र समन्वयमाथि समेत प्रश्न उठाएको छ।


प्रकाशित मिति : बुधबार, २०८३ कार्तिक १८, २० :२१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट