हेटौँडाका बैंकमा नयाँ नोट वितरण सुरु, प्रत्येक बैंकमा आयो ३० लाख रुपैयाँ
समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै राष्ट्र बैंकको निर्देशन, वीरगञ्जबाट नयाँ नोट लिन बोलाइएपछि हेटौँडाका बैंकमा वितरण सुरु
दशैंका लागि नयाँ नोट सटही गर्न नपाउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै हेटौँडाका बैंकमा नयाँ नोट वितरण सुरु भएको छ। नेपाल राष्ट्र बैंक वीरगञ्जको निर्देशनपछि हेटौँडाका बैंकहरूले आजदेखि नयाँ नोट वितरण गर्न थालेका हुन्।
नेपाल राष्ट्र बैंक वीरगञ्जका प्रमुख सञ्जीवकुमार झाले हेटौँडाका सम्पूर्ण बैंकलाई आवश्यकताअनुसार नयाँ नोट लिन आउन र नागरिकलाई सास्ती नहुने गरी वितरण गर्न निर्देशन दिएका थिए। सोही निर्देशनपछि आज हेटौँडाका प्रत्येक बैंकलाई ३० लाख रुपैयाँका दरले नयाँ नोट उपलब्ध गराइएको बताइएको छ।
यसअघि हेटौँडाका अधिकांश बैंकमा नयाँ नोट उपलब्ध नहुँदा सर्वसाधारण बैंक पुगेर रित्तो हात फर्किन बाध्य भएका थिए। दशैंका लागि नयाँ नोट साट्नकै लागि वीरगञ्ज पुग्नुपर्ने अवस्था रहेको भन्दै नागरिकले गुनासो गरेका थिए।
हेटौँडाका बैंकमा नयाँ नोट नपाइएको विषयमा समाचार प्रकाशित भएपछि राष्ट्र बैंक वीरगञ्जले तत्काल चासो देखाउँदै बैंकहरूलाई नयाँ नोट लिन बोलाएको थियो। निर्देशन दिएको २४ घण्टा नबित्दै बैंकहरूमा नयाँ नोट उपलब्ध हुन थालेपछि सर्वसाधारणले सहज रूपमा नोट साट्न पाउने अपेक्षा गरिएको छ।
राष्ट्र बैंक वीरगञ्जका प्रमुख झाले यसअघि बैंकहरूको मागअनुसार नयाँ नोट उपलब्ध गराउँदै आएको बताएका थिए। तर, हेटौँडाका सर्वसाधारणले नोट नपाएको गुनासो सार्वजनिक भएपछि उनले सम्बन्धित बैंकहरूलाई आवश्यकताअनुसार नोट लिन आउन र वितरणमा नागरिकलाई सास्ती नदिन निर्देशन दिएका थिए।
अब बैंकहरूले नयाँ नोट सटहीका लागि आउने नागरिकलाई सहज सेवा दिनुपर्नेछ। दशैंको मुखमा नयाँ नोट साट्न बैंक धाउँदा पनि रित्तो हात फर्किनुपर्ने अवस्थाबाट गुज्रिएका हेटौँडाका नागरिकका लागि नयाँ नोट वितरण सुरु हुनु राहतको विषय बनेको छ।
यो पनि
समाचार प्रभाव : हेटौँडाका बैंकलाई राष्ट्र बैंकको निर्देशन, आवश्यकता अनुसार नयाँ नोट लिन बोलाइयो
प्रकाशित मिति : बिहिबार, २०८३ अशोज २९, २१ :१५ बजे


















प्रतिक्रिया