Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

हेटौँडा अस्पतालमा स्तन क्यान्सर जाँच्ने मेसिन एक वर्षदेखि अलपत्र


महिलामा हुने स्तन क्यान्सरको पहिचान तथा परीक्षणका लागि प्रयोग हुने मेमोग्राम मेसिन हेटौँडा अस्पतालमा एक महिना सञ्चालनमा आएर बन्द भएको पाइएको छ। प्रदेशको आपूर्ति केन्द्रले उपलब्ध गराएको उक्त मेसिन लामो समयदेखि प्रयोगविहीन रहँदा स्तन क्यान्सरको परीक्षण गराउनुपर्ने महिलाले अस्पतालबाट सेवा पाउन सकेका छैनन्।

ADVERTISEMENT

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौँडा अस्पतालमा उपलब्ध मेमोग्राम मेसिन सञ्चालनमा ल्याउन नसकिएको विषयमा प्रतिष्ठानका रजिष्ट्रार भीम सागर गुरागाईंले गैरजिम्मेवार जवाफ दिएका छन्। हेटौँखबरसँगको कुराकानीमा उनले चिकित्सकले परीक्षणका लागि प्रेस्क्राइब नगरेकाले मेसिन सञ्चालनमा नआएको जवाफ दिएका हुन्।

तर, मेमोग्राम मेसिन एक महिना सञ्चालनमा आएर बन्द भएको अवस्थामा चिकित्सकले प्रेस्क्राइब नगरेको कारण देखाउँदै पन्छिन खोज्नुले अस्पतालको सेवा व्यवस्थापनमाथि प्रश्न उठाएको छ। उपकरण सञ्चालनमा ल्याएर नियमित सेवा दिनुपर्ने जिम्मेवारी सम्बन्धित निकायको भए पनि त्यसतर्फ आवश्यक पहल भएको देखिँदैन।

रजिष्ट्रार गुरागाईंले हेटौँडा खबरसँगको कुराकानीमा अस्पतालका मेनेजर सुरेन्द्र बढुले आफूलाई दुई महिनाअघिसम्म मेसिन चलेको बताएको उल्लेख गरे। तर, उक्त मेसिन एक महिना मात्र सञ्चालनमा आएर बन्द भएको थियो। यसले अस्पतालभित्रै उपकरण सञ्चालनको अवस्थाबारे जिम्मेवार पदाधिकारीबीच स्पष्ट जानकारी र समन्वय छ कि छैन भन्ने प्रश्नसमेत उठाएको छ।

प्रदेशको आपूर्ति केन्द्रले करिब एक वर्षअघि उपलब्ध गराएको मेमोग्राम मेसिन एक महिना सञ्चालनमा आएपछि किन बन्द भयो र त्यसलाई पुनः सञ्चालनमा ल्याउन किन पहल भएन भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिन सकेका छैनन्।

स्तन क्यान्सरको समयमै पहिचान तथा उपचारका लागि मेमोग्राफी परीक्षण महत्वपूर्ण मानिन्छ। स्तनमा गाँठागुठी देखिएका, असामान्य परिवर्तन महसुस गरेका वा चिकित्सकको सल्लाहमा थप परीक्षण गराउनुपर्ने महिलाका लागि यस्तो सेवा आवश्यक हुन्छ। तर, सरकारी अस्पतालमै उपकरण भएर पनि सेवा उपलब्ध नहुँदा बिरामी अन्य स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था सिर्जना भएको छ।

अस्पतालमा उपकरण उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन। त्यसलाई नियमित सञ्चालनमा ल्याउने, आवश्यक जनशक्ति तथा प्राविधिक व्यवस्थापन गर्ने र नागरिकलाई सेवा उपलब्ध गराउने दायित्व पनि सम्बन्धित निकायको हो। चिकित्सकले प्रेस्क्राइब नगरेको भन्ने जवाफ दिएर मात्रै उपकरण बन्द रहनुको कारण स्पष्ट हुँदैन।

एक वर्षअघि उपलब्ध गराइएको मेमोग्राम मेसिन एक महिना चलेर किन बन्द भयो? बन्द भएको उपकरण पुनः सञ्चालनमा ल्याउन अस्पतालले के पहल गर्‍यो? र उपकरण सञ्चालनको अवस्थाबारे प्रतिष्ठानका पदाधिकारी र अस्पताल व्यवस्थापनबीच किन फरक विवरण देखियो? यी प्रश्नको जवाफ प्रतिष्ठान र अस्पताल प्रशासनले दिन आवश्यक छ।


प्रकाशित मिति : शुक्रबार, २०८३ कार्तिक १३, १८ :४३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट