बागमती स्वास्थ्य सचिव नियुक्तिमा विवाद, कर्मचारीको विरोध
बागमती प्रदेशको स्वास्थ्य सचिवमा संघीय सरकारबाट कर्मचारी पठाएको निर्णयप्रति प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारीले असन्तुष्टि जनाएका छन्। प्रदेशभित्रै सचिव बन्न योग्य अधिकारी हुँदाहुँदै संघबाट कर्मचारी ल्याउन लागिएको भन्दै उनीहरूले सरकारको निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारीले मुख्यमन्त्री किरण थापा, स्वास्थ्यमन्त्री गिरबहादुर तामाङलगायतलाई भेटेर ध्यानाकर्षण तथा विरोधपत्र बुझाएका छन्।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको स्वास्थ्य सचिवका रूपमा कार्यरत डा. सुमित्रा गौतमलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो। उनको स्थानमा टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत कन्सल्ट्यान्ट फिजिसियन डा. अवधेशकुमार मिश्रलाई बागमती प्रदेशमा सरुवा गर्ने निर्णय गरिएको हो।
डा. मिश्रलाई प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिने तयारी गरिएपछि प्रदेशका कर्मचारीले विरोध जनाएका हुन्।
मन्त्रालयका कर्मचारीका अनुसार प्रदेशमा सचिव बन्न योग्य ११औँ तहका छ जना अधिकारी कार्यरत छन्। उनीहरूले प्रदेशमै उपलब्ध योग्य जनशक्तिमध्येबाट सचिव नियुक्त गर्नुपर्ने माग गरेका छन्।
प्रदेशभित्रै योग्य अधिकारी हुँदाहुँदै संघबाट कर्मचारी पठाउने निर्णय संघीयताको मर्मविपरीत रहेको कर्मचारीहरूको तर्क छ। उनीहरूले उक्त निर्णय सच्याउन माग गर्दै मुख्यमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराएका छन्।
संघीय सरकारको निर्णय कार्यान्वयन र प्रदेशका कर्मचारीको मागबीच उत्पन्न असन्तुष्टिले बागमती प्रदेशको स्वास्थ्य प्रशासनमा नयाँ बहस सिर्जना गरेको छ।
प्रकाशित मिति : शुक्रबार, २०८३ कार्तिक १३, १८ :१५ बजे


















प्रतिक्रिया