दशैंमा नयाँ नोट साट्न हेटौँडामा सास्ती, वीरगञ्ज पुग्नुपर्ने बाध्यता
राष्ट्र बैंक भन्छ– मागअनुसार नोट पठाएका छौँ, भोलिदेखि फेरी पठाउँछौ
दशैंका अवसरमा नयाँ नोट सटही गर्ने व्यवस्था मिलाइएको बताइए पनि मकवानपुरको हेटौँडामा सर्वसाधारणले सहज रूपमा नयाँ नोट पाउन सकेका छैनन्। हेटौँडाका अधिकांश बैंकमा नयाँ नोट उपलब्ध नहुँदा सेवाग्राही समस्यामा परेका हुन्।
दशैंमा नयाँ नोट साटेर टीका लगाउने तथा दक्षिणा दिने परम्परा रहिआएको छ। यही परम्पराअनुसार नयाँ नोट साट्न हेटौँडाका विभिन्न बैंकमा पुग्ने गरेका सर्वसाधारण नोट नपाएपछि रित्तो हात फर्किन बाध्य छन्। बैंकमा नयाँ नोट माग्न पुग्ने ग्राहकलाई राष्ट्र बैंकबाटै नोट उपलब्ध नभएको भन्दै फर्काउने गरिएको बैंकका कर्मचारीहरू बताउँछन्।
हेटौँडाका अधिकांश बैंकमा नयाँ नोट उपलब्ध नहुँदा मकवानपुरका नागरिकले नयाँ नोट साट्नकै लागि वीरगञ्ज पुग्नुपर्ने अवस्था सिर्जना भएको छ। हेटौँडामा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पर्याप्त भए पनि सर्वसाधारणले सहज रूपमा नयाँ नोट साट्न नपाएको गुनासो गरेका छन्।
नयाँ नोट साट्नकै लागि तीन–चारवटा बैंकमा पुग्दा पनि नोट नपाएको हेटौँडाका एक सर्वसाधारणले गुनासो गरे। उनले भने, “वीरगञ्जमा जति मागे पनि नयाँ नोट पाइन्छ रे। तर हेटौँडामा यत्रा बैंक छन्, कुनैले पनि दिएनन्। सरकारले एटीएमबाट समेत नयाँ नोट पाइन्छ भनेर प्रचार गर्यो, तर बैंकमै पुग्दा पनि नोट पाइएन। सरकारले भनेको कुरा व्यवहारमा देखिएन।” दशैंको मुखमा नयाँ नोट साट्न बैंक धाउनुपर्ने र अन्ततः रित्तो हात फर्किनुपर्ने अवस्थाले सर्वसाधारणलाई थप सास्ती भएको उनको भनाइ छ।
हेटौँडाका बैंकमा नयाँ नोट अभाव भएको गुनासो सार्वजनिक भइरहेका बेला नेपाल राष्ट्र बैंक वीरगञ्जका प्रमुख सञ्जीवकुमार झाले भने बैंकहरूको मागअनुसार नयाँ नोट उपलब्ध गराउँदै आएको बताएका छन्। हेटौँडा खबरसँगको कुराकानीमा प्रमुख झाले सम्बन्धित बैंकको वीरगञ्जस्थित कार्यालयमार्फत शाखाहरूमा वितरण गर्न मागबमोजिम नयाँ नोट उपलब्ध गराइएको बताएका हुन्।
उनले भने, “हामीले सम्बन्धित बैंकको वीरगञ्जमा रहेको कार्यालयलाई आफ्ना शाखाहरूमा उपलब्ध गराउन मागबमोजिमको नयाँ नोट दिने गरेका छौँ। एक हप्ताअगाडिदेखि नै नयाँ नोट पठाउन थालिएको हो। तर जनताले कसरी सास्ती पाए, हामी अचम्ममा परेका छौँ। बैंकले माग गरेअनुसार हामीले नयाँ नोट उपलब्ध गराएका छौँ, रोकेका छैनौँ।”
हेटौँडाका सर्वसाधारणले नयाँ नोट नपाएको गुनासो गरिरहँदा राष्ट्र बैंकले भने मागअनुसार नोट उपलब्ध गराएको दाबी गरेको छ। यसले राष्ट्र बैंकबाट नोट प्राप्त नभएको बताउने बैंकहरू र राष्ट्र बैंकको भनाइबीच प्रश्न खडा गरेको छ।
प्रमुख झाले सर्वसाधारणले सहज रूपमा नयाँ नोट नपाएको अवस्था रहे त्यसबारे चासो लिने पनि बताएका छन्। दशैंपछि सम्बन्धित बैंकहरूमा नयाँ नोट फेला परेमा त्यसबारे सोधपुछ गरिने उनको भनाइ छ। हेटौँडामा नयाँ नोट अभाव भएको गुनासो आएपछि राष्ट्र बैंक वीरगञ्जले मकवानपुरका लागि पुनः नयाँ नोट पठाउने जनाएको छ।
प्रमुख झाले मकवानपुरका लागि भोलिदेखि पुनः वीरगञ्जबाट नयाँ नोट पठाइने जानकारी दिएका छन्। यससँगै हेटौँडाका सर्वसाधारणले नयाँ नोट सटही गर्न पाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : बुधबार, २०८३ अशोज २८, १२ :४७ बजे


















प्रतिक्रिया