श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरको ३६ औँ साधारण सम्पन्न, बाढीपीडितलाई सहयोग
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, जिल्ला कार्यसमिति मकवानपुरको ३६ औँ वार्षिक साधारण सभा हेटौँडास्थित श्रीकृष्ण प्रणामी मन्दिरमा सम्पन्न भएको छ।
जिल्ला अध्यक्ष सूजन तिमल्सिनाको सभापतित्वमा आयोजित यस कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद खतिवडाको प्रमुख आतिथ्यता तथा श्याम मुडभरीको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरका जिल्ला अध्यक्ष श्रीराम खतिवडा, पूर्व केन्द्रीय अध्यक्ष रामप्रसाद शर्मा, केन्द्रीय उपाध्यक्ष प्रमोद वाग्लेलगायत बाइजुराज समिति, केन्द्रीय तथा प्रदेश सेवा समिति र युवा परिषद्का पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।
साधारण सभाको अवसर पारेर श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको बाढीपीडित राहत कोषमा जम्मा गर्ने उद्देश्यले रु. २५,००० (पच्चीस हजार रुपैयाँ) को चेक सेवा समितिलाई हस्तान्तरण गरिएको छ। समाजप्रतिको उत्तरदायित्व बहन गर्दै गरिएको यो सहयोगले विपद्मा परेकाहरूलाई राहत पुग्ने विश्वास लिइएको छ।
साथै जिल्लाभरका विभिन्न श्रीकृष्ण प्रणामी मन्दिरहरूमा बीतक कथा प्रवचन तथा धर्म प्रचारका लागि खटिनुभएका धर्मप्रचारकहरूलाई सम्मानसहित विदाई तथा “फेरि भेटौँला” कार्यक्रम समेत गरिएको अध्यक्ष तिमल्सिनाले बताउनुभयो।
धर्मप्रचारकहरूको धार्मिक तथा आध्यात्मिक योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि उहाँहरूको मार्गदर्शन र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा गरिएको तिमल्सिनाले बताउनुभयो।
प्रकाशित मिति : आइतवार, २०८३ भदौ २१, १६ :१९ बजे



















प्रतिक्रिया