Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध देशभर आन्दोलन, मकवानपुरमा कालोपट्टी बाँधेर विरोध


हेटौँडा । सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ को विरोधमा देशभरका शैक्षिक परामर्श संस्थाहरूले शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन्।

ADVERTISEMENT

पूर्वनिर्धारित आन्दोलन कार्यक्रमअनुसार नियमावली संशोधनको माग गर्दै देशभरका शैक्षिक परामर्श संस्थाहरूले हातमा कालोपट्टी बाँधेर शान्तिपूर्ण विरोध जनाएका हुन्। राष्ट्रिय आन्दोलन कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि इक्यान मकवानपुरले कालोपट्टी बाँधेर ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन गरेको छ।

इक्यान मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडाले सरकारले सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श नगरी नियमावली ल्याएको आरोप लगाए। उनका अनुसार उक्त नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई अनावश्यक रूपमा नियन्त्रण गर्ने, निजी क्षेत्रलाई निरुत्साहित गर्ने तथा व्यवसाय सञ्चालनमा थप जटिलता सिर्जना गर्ने व्यवस्था समेटिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको हो।

मकवानपुरमा आयोजित विरोध कार्यक्रममा इक्यानका केन्द्रीय सदस्य विवेक बस्नेतसहित शैक्षिक परामर्श व्यवसायीहरूको सहभागिता रहेको थियो।

यसअघि शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध १५ वटा राष्ट्रिय संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नियमावली तत्काल संशोधन गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले नियमावलीमा समावेश गरिएका केही व्यवस्थाले शैक्षिक परामर्श संस्थाहरूको अस्तित्वमाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको आरोप लगाएका छन्।

आन्दोलनरत संस्थाहरूले अनुमतिपत्रको अवधि तथा नवीकरण पाँच वर्षको हुनुपर्ने, शैक्षिक मेलाको स्पष्ट वर्गीकरण गरिनुपर्ने, विदेश अध्ययनसम्बन्धी शैक्षिक मेला, प्रदर्शनी तथा सेमिनार सञ्चालनको अनुमति दिइनुपर्ने, संस्था सञ्चालनसम्बन्धी जटिल मापदण्ड हटाइनुपर्ने, विदेशी शैक्षिक संस्थाबाट प्राप्त हुने सेवा शुल्क लिन पाउने व्यवस्था कायम गरिनुपर्ने, समता कर तथा दोहोरो विवरण पेस गर्ने व्यवस्था हटाइनुपर्ने, विद्यार्थीको आर्थिक वा मानसिक क्षतिको आधारमा परामर्श संस्थालाई क्षतिपूर्ति तिर्न बाध्य पार्ने व्यवस्था खारेज गरिनुपर्ने, सरोकारवालाले दिएका सुझाव नियमावलीमा समावेश गरिनुपर्ने, संस्थागत वर्गीकरण हटाइनुपर्ने तथा धरौटीको व्यवस्था पूर्ण रूपमा खारेज गरिनुपर्ने लगायतका माग अघि सारेका छन्।

व्यवसायीहरूले आफ्ना मागहरू सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन्।


प्रकाशित मिति : शुक्रबार, २०८३ साउन १, १३ :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट