Techie IT
  • २३ कात्तिक २०८३, सोमबार
Hetauda Khabar
  • २३ कात्तिक २०८३, सोमबार

हेटौंडाका निजी विद्यालयमा शुल्कको मनपरी, शिर्षक फेरेर असुली, अभिभावक मारमा


सरकारले नयाँ शैक्षिक सत्र २०८३ सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न र पुराना विद्यार्थीबाट भर्ना शुल्क नलिन स्पष्ट निर्देशन दिए पनि निजी विद्यालयहरूले विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने क्रम रोकिएको छैन । हेटौंडाका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विभिन्न शीर्षकमा शुल्क उठाउन थालेपछि अभिभावकहरू आर्थिक भारमा परेका छन् । सरकारले एक पटक भर्ना भइसकेका विद्यार्थीबाट पुनः भर्ना शुल्क लिन नपाइने स्पष्ट व्यवस्था गरे पनि विद्यालयहरूले शीर्षक परिवर्तन गरेर शुल्क असुल्ने गरेको गुनासो बढ्दै गएको हो ।

ADVERTISEMENT

अभिभावकहरूका अनुसार विद्यालयहरूले “वार्षिक शुल्क”, “संस्थागत विकास शुल्क”, “प्रशासनिक शुल्क”, “क्रियाकलाप शुल्क”, “स्मार्ट क्लास शुल्क” लगायतका नाममा रकम उठाइरहेका छन् । कतिपय विद्यालयले अनिवार्य रूपमा पोशाक, पुस्तक तथा स्टेशनरी समेत विद्यालयले तोकेकै ठाउबाट मात्र खरिद गर्न दबाब दिने गरेको र बाध्य पारेको अभिभावकहरूको भनाइ छ । यसले मध्यम तथा न्यून आय भएका परिवारलाई थप समस्यामा पारेको छ ।

एउटै विद्यार्थीबाट हरेक वर्ष नयाँ भर्ना शुल्क लिन पाइँदैन । तर व्यवहारमा भने हेटौंडाका धेरै निजी विद्यालयहरूले फरक–फरक शीर्षक प्रयोग गरेर अतिरिक्त रकम उठाइरहेका छन् । हेटौंडाका नाम चलेका निजी विद्यालयहरू नवोदय शिशु सदन, बाल जागृति, जी.एस. निकेतन लगायतले वार्षिक शुल्कका नाममा मनलाग्दी शुल्क असुल्ने गरेको अभिभावकहरूको आरोप छ ।

यस विषयमा अभिभावकहरूले पटक–पटक गुनासो गरे पनि हेटौंडा उपमहानगरपालिकाले प्रभावकारी अनुगमन तथा कारबाही गर्न नसकेको आरोप लागिरहेको छ । उपमहानगरपालिकाले प्रत्येक वर्ष “अनधिकृत शुल्क नलिन” भन्दै सूचना तथा विज्ञप्ति जारी गरे पनि त्यसको कार्यान्वयन पक्ष कमजोर देखिएको छ ।

उता निजी विद्यालय सञ्चालकहरूको संस्था ‘प्याब्सन’ मकवानपुर भने यस विषयमा सार्वजनिक रूपमा बोल्न वा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन इच्छुक देखिदैन । धेरैजसो अवस्थामा ‘प्याब्सन’ मकवानपुरका अधय्क्ष बिनोद सुबेदीलगायत पदाधिकारीले फोन नउठाई बस्ने गरेका छन् ।

शिक्षा क्षेत्रमा बढ्दो व्यावसायीकरणका कारण अभिभावकहरू थप पीडित बन्दै गएको सरोकारवालाहरू बताउँछन् । स्थानीय सरकारले प्रभावकारी अनुगमन, पारदर्शी शुल्क प्रणाली र कानुन उल्लंघन गर्ने विद्यालयमाथि कारबाही नगरेसम्म निजी विद्यालयको मनपरी रोक्न कठिन हुने अभिभावकहरूको भनाइ छ ।


प्रकाशित मिति : सोमवार, २०८३ बैशाख २८, १७ :०५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट