हेटौंडामा टाटासुमोहरुको ठगी धन्दा, दोब्बर भाडा असुल्दासमेत रमिते बन्यो प्रहरी
न्यु हाम्रो सुमो सेवाले दोब्बर असुल्छ भाडा
हेटौंडा–काठमाडौं चल्ने टाटासुमोहरुले चाडपर्वको मौका छोपेर खुलेआम यात्रुहरु ठगी गर्दै आइरहेका छन् ।
हेटौंडाका नाम चलेका सुमो काउन्टरहरुले यात्रुहरुसंग दोब्बर भाडा असुली गर्दै ठगी गर्दै आएका छन् । सुमोहरुले काठमाडौंबाट दशैं मनाउन जिल्ला छिरेका यात्रुहरुलाई काठमाडौं जाने क्रममा मौका छोपेका हुन् ।
चाडपर्व अघि काठमाडौंबाट मकवानपुर आउने यात्रु बढी हुन्छन् भने चाडपर्व सकिएपछि काठमाडौं जाने बढी हुन्छन् । सुमोहरुले काठमाडौंबाट आउँदा र हेटौंडाबाट जाँदा यात्रुहरुलाई दोब्बर भाडा लिने गरेका छन् । सुमोहरुले कारबाहीबाट बच्न टिकटमा तोकिएकै भाडा दर कायम गर्ने र यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने गरेको यात्रुहरुको गुनासो छ ।
यसैक्रममा हेटौंडाको न्यु हाम्रो सुमो सेवाले यात्रुसंग दोब्बर भाडा लिने गरेको पाइएको छ । न्यु हाम्रो सुमोले सुमोको भाडा ६५० रुपैंया भएपनि १२ सयदेखि १५ सयसम्म भाडा लिने गरेको हेटौंडाबाट काठमाडौं फर्किदै गरेकी हेटौंडा-४ कि रोशिका थापाले गुनासो गरीन् ।
न्यु हाम्रो सुमोले रिजर्व भनेर टिकटमा ६५० लेखि चालकले बीच बाटोमा पुगेपछी १२ सय लिएको अर्का यात्रु दिपेश चौलागाईले बताए ।
शनिबार न्यु हाम्रो सुमो सेवाको ना.१ ज ७२११ नम्बरको सुमोले हेटौंडाबाट काठमाडौं जाने यात्रुसंग १२ सयका दरले भाडा असुलेको छ । त्यस्तै उक्त कम्पनीको अन्य काउन्टरबाट समेत १२ सयदेखि १५ सय सम्म लिने गरेको पाइएको छ ।
दशै अघि घटस्थापना देखि नवमीको दिन सम्म काठमाण्डौबाट हेटौंडा आउँदा मात्र यात्रु ठगि गरेका सुमोहरुले अहिले हेटौंडाबाट काठमाण्डौ जाँदा र काठमाण्डौबाट हेटौंडा फर्कदा समेत यात्रुसंग तोकिएको भन्दा दोव्वर भाडा असुलिरहेका छन् ।
सुमोले दोब्बर भाडा असुल गर्दासमेत मकवानपुर प्रशासन भने रमिते बनेको छ । केहिदिन अघि प्रहरीले केहि सुमोलाई कारबाही गरे जस्तो गरेपनि प्रहरीकै अगाडी दिनभर यात्रु ठगिदा प्रहरीले देखे नदेखे झैँ गर्ने गरेको छ । हरेक दिन सुमोले ठगीधन्दा चलाउँदा पनि प्रहरी र प्रशासनले बेवास्था गर्ने गरेको यात्रीले गुनासो गर्ने गरेका छन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया