Techie IT
Hetauda Khabar

एन्ड्रसले हात पार्यो मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी


हेटौंडा । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी टिम एन्ड्रसले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधी जितेको हो ।

एन्ड्रसको जीतमा सरोज पौडेलले दुई गोल गरे । रविन्द्र वाईबाको निर्णायक गोलमा खेलकुद पत्रकार मञ्च मकवानपुरलाई हराउँदै टिम एन्ड्रस फाइनलमा प्रवेश गरेको थियो । यस्तै उपविजेता आयोजक रेडियो मकवानपुर नेपाल पत्रकार महासंघलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

विजेता टिम एन्ड्रस अघिल्लो वर्ष खेलकुद पत्रकार मञ्चद्धारा आयोजित जिल्लास्तरीय मिडिया कपको विजेतासमेत हो । विजेता टिमलाई आगामी सोमबार सप्ताहव्यापी कार्यक्रम समापनका दिन पुरस्कार वितरण गरिने रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेश अधिकारीले बताए ।

रेडियो मकवानपुरले आफ्नो वार्षिकोत्सवमा अवसरमा गएको मंगलबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । पहिलो दिन सहिदको विषयमा रचना वाचन, दोस्रो दिन हेटौंडा क्याम्पसमा सेनटरी प्याड वितरण र तेस्रो दिन ओम वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको थियो ।

यस्तै शनिबार मनहरी–५ मा निशुल्क स्वास्थ्य शिविर, आइतबार बालमैत्री नगर निर्माणमा सरोकारवालाको भुमिका विषयक वत्तृत्वकला प्रतियोगिता आयोजना हुने र सोमबार समापन गरिने म्यानेजर अधिकारीले बताए ।

रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्ष तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल र मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायतको आतिथ्यता रहेको थियो ।


क्याटेगोरी : खेलकुद, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट