Techie IT
Hetauda Khabar

मध्यरातको भूकम्प – जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ पुग्यो


गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ पुगेको छ ।

यस्तै भूकम्पबाट १ सय ४० जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ ।

यस्तै ५५ जना घाइते छन् । घाइतेहरुमध्ये ५ जनलाई थप उपचारका लागी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

त्यसैगरी छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । भूकम्पमा परी रुकुमपश्चिममा ३७ जनाले ज्यान गुमाएका छन् भने ८५ जना घाइते छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

भूकम्पका कारण मध्य पहाडी लोक मार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठविसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।

यस कारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्धार राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय भएर काम गर्न भनेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट