Techie IT
Hetauda Khabar

गर्भवती, सुत्केरी र बच्चाको पोषण तथा स्वास्थ्यका लागि ‘मेरो पोषण साथी’ सार्वजनिक


गर्भवती, सुत्केरी, बालबालिका, किशोरी र वृद्धको स्वास्थ्य तथा स्याहारमा सघाउने सरकारी एप ‘मेरो पोषण साथी’ सार्वजनिक भएको छ । आइतवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको यो एपमा स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोगसम्बन्धी सामयिक र उपयोगी महत्त्वपूर्ण जानकारी राखिएका छन् ।
नेपाली भाषामा प्रयोग गर्न सकिने यो एपले राखेको विवरणको आधारमा गर्भावस्था वा बच्चाको तौल, खानपान, उमेर लगायतका रेकर्ड राख्छ र त्यसैअनुसार आवश्यक स्वास्थ्य व्यवहारहरूको बारेमा जानकारी दिन्छ ।

सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्त्वपूर्ण र उपयोगी जानकारी पुर्‍याउन मेरो पोषण साथी मोबाइल एप र डिजिटल लाइब्रेरी सुरुवात गरिएको मन्त्रालयले जनाएको छ । अमेरिकी सहयोग नियोग (यूएसएड) सहकार्यमा सरकारले यो एप ल्याएको हो ।

आफू र आफ्नो परिवारको स्वास्थ्य र पोषण अवस्था राम्रो बनाउन निकै उपयोगी हुने ठानिएको यो एप नजान्नेहरूको सिकाइका लागि भिडिओ ट्युटोरियल समेत तयार पारिएको छ । विशेषगरी गर्भवती, सुत्केरी, बच्चाका लागि तयार पारिएको यो एप किशोरी वा वृद्धहरूका लागि समेत उपयोगी छ ।

एपमा गर्भवती, सुत्केरी, शिशु तथा बालबालिका, स्तन पान, बिरामी बच्चाको हेरचाह, किशोर किशोरी आदि अवस्था अनुसारका पोषण सम्बन्धी जानकारी राखिएका छन् । उदाहरणका लागि गर्भवतीको पोषण जानकारीमा गर्भवतीको खानपान, गर्भ जाँच, सरसफाई र आराम जस्ता विस्तृत जानकारी पाउन सकिन्छ ।

व्यक्तिगत विवरण राखेर एप प्रयोग गर्नेहरूलाई नोटिफिकेसनबाटै एपले महत्त्वपूर्ण जानकारी दिने गर्छ ।

त्यस बाहेक तौल जाँच, खानाको प्रकार जाँच, स्तनपानको समय सम्झाउने टाइमर, बीएमआई जाँच आदिका विकल्प पनि एपभित्रै उपलब्ध छन् ।

त्यस्तै नजिकै रहेको स्वास्थ संस्था, पोषण पुनर्स्थापना केन्द्र, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न आवश्यक जानकारी सहितका भिडिओ सामग्री लगायतका स्वास्थ्य सेवा सम्बन्धी अन्य जानकारी समेत एपबाटै पाउन सकिन्छ ।

एक पटक डाउनलोड गरिसकेपछि इन्टरनेट नहुँदा समेत प्रयोग गर्न सकिने गरी यो एप तयार पारिएको छ । जसले गर्दा एपको आकार करिब ६० एमबी रहेको छ ।


क्याटेगोरी : समाचार, सुचना-प्रविधि, स्वास्थ्य-जिवनशैली

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट