Techie IT
Hetauda Khabar

नयाँ भवनमा सर्यो जिल्ला अदालत मकवानपुर


हेटौंडा,२८ माघ । जिल्ला अदालत मकवानपुरले आइतबारबाट सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

अदालतले आइतबारबाट नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । सेवा प्रवाह र भवनको औपचारिक उद्घाटन आगामी फागुन १६ मा गर्ने गरी तयारी गरिएको उनको भनाइ छ ।

हेटौँडा उपमहानगरपालिका २ मा रहेको जिल्ला अदालतको भवन पुरानो भएकाले भत्काएर नयाँ भवन निर्माणका लागि २०७७ माघमा ठेक्का लगाएर काम सुरु गरिएको थियो । पुरानो भवन भत्काएपछि जिल्ला अदालत मकवानपुरले उच्च अदालत पाटन हेटौँडा इजलासको परिसरमा रहेको एक नाले भवनबाट आफ्ना सेवा दिँदै आएको थियो ।

साँघुरो भवन भएकाले अदालतका कर्मचारी र न्यायाधीश कोचाकोच गरी सेवा प्रवाह गरिरहेका थिए भने सेवाग्राहीले पनि समस्या भोगिरहेका थिए । जिल्ला अदालत मकवानपुर ४ जना न्यायाधीशसहित ५६ जना कर्मचारी कार्यरत छन् ।

अदालतको नवनिर्मित भवन करिब १७ करोड लागतमा गत भदौमा निर्माण सकिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सामुन्ने बनेको उक्त अदालतको भवन सात तले रहेको छ । १३१ वटा कोठा रहेको भवनमा २ वटा लिफ्ट रहेका छन् ।

७ वटा इजलास कक्ष रहेको उक्त भवनमा १५० जना अट्ने क्षमताको सभाहल पनि रहेको छ । अन्डर ग्राउन्ड पार्किङ रहेको भवनमा १ सय ४ वटा सोलार प्यानलसमेत जडान गरिएको छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट