Techie IT
Hetauda Khabar

मकवानपुरगढीमा रैथाने फापर संकलन सुरु, कृषकले प्रतिकिलो ११६ रुपैयाँ पाउने


हेटौंडा । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा रैथाने बाली फापर संकलनको शुरूवात गरिएको छ ।

वडा न. ८ बुढिचौर स्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले आइतबारदेखि त्यस क्षेत्रमा कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद गरि संकलन गर्न शुरुवात गरिएको संस्थाका व्यवस्थापक गुन्जरत्न लुङ्वाले बताए।

गाउँपालिकाबाट फापरको समर्थन मूल्य प्रति केजी एकसय रुपैयाँ तोकिएकोमा सहकारी संस्थाले १ सय १० मा खरिद गरेको र त्यसमा गाउँपालिकाबाट प्राप्त हुने प्रति केजी ६ रुपैयाँ अनुदान रकम समेत थप गरि प्रति केजी १ सय १६ रुपैंयाको दरले कृषकहरुबाट फापर खरिद गरिएको व्यवस्थापक लुङ्वाले जानकारी दिए ।

संकलनको पहिलो दिन आइतबार २१ जना कृषकहरुबाट २१ सय ७४ केजी फापर खरिद भएको सहकारीका सचिव अजय योन्जनले बताए।

आइतबार फापर विक्री गर्ने कृषकहरु मध्ये चन्द्र बहादुर लुङ्वाले सबैभन्दा बढी २ सय ६८ केजी फापर विक्री गरेको उनले बताए । गत वर्ष कृषकहरुले प्रति केजी ९० रुपैयामा विक्री गरेकोमा यस वर्ष गाउँपालिकाको अनुदान समेत थप गरि प्रति केजी १ सय १६ रुपैया पाएकोमा कृषकहरु खुशी भएका छन् ।

यस वर्षदेखि कृषकहरुबाट फापर संकलन शुरुवात गरेकोमा अनुमानित १० मे.टन खरिद गर्ने लक्ष्य रहेको सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान तथा वडा न. ८ का वडाध्यक्ष कुमार सिं घिसिङको उपस्थितिमा फापर खरिद गर्न शुरु गरिएको हो ।

गाउँपालिकाले रैथानेबालीको न्युनतम समर्थन मुल्य निर्धारण गरि प्रति केजी अनुदान समेत दिन थालेपछि पालिका भित्र रैथानेबालीको खेती गर्दै आएका कृषकहरु उत्साहित भएका गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । केहि दिन अघि पालिकाको वडा नम्बर ४ कालिखोला क्षेत्रमा कोदो संकलनको शुरुवात गरिएको थियो ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट