Techie IT
Hetauda Khabar

५५ इन्टरनेट सेवाप्रदायकले गरेनन् टिकटक बन्द, लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी


सरकारको निर्देशन अवज्ञा गर्दै हालसम्म विभिन्न ५५ इन्टरनेट सेवाप्रदायकले नेपालमा प्रतिवन्धित टिकटक बन्द नगरेको पाईएको छ । नेपाल दूरसंचार प्राधिकरणले ५५ इन्टरनेट सेवाप्रदायकको सूची नै सार्वजनिक गर्दै हालसम्म उक्त सेवाप्रदायकहरुले प्राधिकरणलाई टिकटक बन्द गरे/नगरेको जानकारी नगराएको बताएको हो ।

गएको कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिवन्ध गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्टै नेपाल दूरसंचार प्राधिकरणले विभिन्न दूरसंचार र इन्टरनेट सेवाप्रदायकलाई नेपालभित्र टिकटक चल्न नसकिने बनाउन निर्देशन दिएको थियो । सोही दिनदेखि नै धेरैजसो (खासगरी नाम चलेका) इन्टरनेट सेवाप्रदायकले टिकटक चलाउन नसकिने गरी डिएनएस र आइपी एड्रेस ब्लक गरे ।

नेपालभर धेरैजसो स्थानमा टिकटक चल्न छोड्यो । सोहीदिन देखि सर्वसाधारणले टिकटक चलाउन पाएनन् । तर, अझै केहि स्थानमा टिकटक चलिरहेको खवर प्राधिकरणमा प्राप्त भएपछि टिकटक चले नचलेको अनुसन्धान गर्न र चलेको भए बन्द गराउन सकिने गरी प्राधिकरणले एक कमिटि गठन गरेको थियो ।

उक्त कमिटिले अध्ययन गरी देशभर संचालित इन्टरनेट सेवाप्रदायकमध्ये ५५ इन्टरनेट सेवाप्रदायकहरुले हालसम्म प्राधिकरणलाई जानकारी नगराएको बताएको हो । मन्त्रिपरिषदले टिकटकमा प्रतिवन्ध लगाउने निर्णय गरेयतामात्रै नेपाल दूरसंचार प्राधिकरणले टिकटक नचलाउन, चलेको भए खबर गर्नलगायतका गरी ५ सूचना जारी गरिसकेको छ । तर, पनि केहि इन्टरनेट सेवाप्रदायकले अटेरी गर्दै हालसम्म पनि प्राधिकरणलाई जानकारी नदिएपछि प्राधिकरणले टिकटक बन्द गरिए नगरिएको जानकारी २४ घण्टाभित्र दिन निर्देशन दिएको छ ।

२४ घण्टाभित्र पनि उक्त जानकारी प्राधिकरणमा नपठाए लाइसेन्स खारेजीसम्मको कारबाही गरिने प्राधिकरणले जानकारी दिएको छ । सूचना जारी गर्दै प्राधिकरणले २४ घण्टनाभित्र प्राधिकरणको यसअघिको निर्णय कार्यान्वयनमा आए नआएको विषयमा जानकारी दिन निर्देशन दिएको छ । यस्तै उक्त जानकारी तोकिएको समयमा नआए दूरसंचार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजीलगायतको कारबाही प्रक्रिया अघि बढाईने प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट