Techie IT
Hetauda Khabar

मकवानपुरको राक्सिराङ गाउँपालिकामा रैथाने बाली संरक्षण


हेटौंडा । पछिल्लो समय लोप हुँदै गएको रैथाने बाली संरक्षण थालिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा रैथाने बाली संरक्षणमा जोड दिइएको हो । रैथाने बाली संरक्षणका लागि यहाँ संकलन तथा विक्री केन्द्रको स्थापना गरिएको छ ।

राक्सिराङको हिमाली देवीटार कृषि सहकारी संस्था लिमिटेडले स्थानीय उत्पादन कृषि उपज तथा रैथाने बाली विक्री वितरण र संकलन केन्द्र स्थापना गरेसंगै यहाँको उत्पादनलाई संरक्षण गर्न सकिने भएको हो । गाउँपालिकाको वडा नं. ८ मा रहेको संस्थाले गाउँघरमै उत्पादित रैथाने कृषि उपजहरुलाई बजारीकरण गर्ने कामको शुरुवात गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले केन्द्रको उदघाटन गर्दै रैथाने बालीको उत्पादन बढाउन आग्रह गरे । संकलन केन्द्रमा रैथाने कृषि सामाग्रीको अभाव कहिल्यै हुन नदिनुस उनले भने, कृषि उपज उत्पादन भई संकलन गर्न सके निकट भविष्यमै गाउँपालिकाले कृषि एम्बुलेन्स चलाउने अध्यक्ष मल्लको भनाई छ । लोप हुदैँ गएका रैथाने बालीहरुको संरक्षण र उत्पादन बृद्धि गर्न गाउँपालिकाले अनुदानको ब्यवस्था गर्ने उनले बताए । रैथाने बाली, कृषि उपजहरुलाई बजारीकरणको लागि ब्राण्डिङ्ग गर्दै लैजाने योजना रहेको उनले बताए ।

गत आर्थिक बर्ष २०७९/८० मा विनियोजित ८ लाख रुपैयाको बजेटबाट ३ कोठाको भवनमा सहकारी संस्थाले रैथाने बाली बिक्री वितरण र संकलन केन्द्र स्थापना गरेको हो । संकलन केन्द्रमा संस्थाले मकैको पिठो, गुन्द्रुक, चिउरीको पिना, घ्यु, वन तरुल, कोदोको पिठो, फापरको पिठो, तोरी, मास, मस्याङ, केरा, गहत, जुनेलो, डोको, मान्द्रो, तामा, पिडालु, सिमल तरुल लगायत २० प्रकारको स्थानीय उत्पादन बिक्रीको लागि राखेको छ ।

गाउँघरमा उत्पादित रैथाने बाली तथा कृषि उपज संकलन गरेर बिक्रीका लागि राखेको सहकारी संस्थाका अध्यक्ष राजकुमार स्याङतानले बताए । कृषकले उत्पादन गरेको बालीलाई बजार भाउमै गाउँमै खरिद गरि ब्यवसायीकरण गर्ने सहकारीको लक्ष्य छ । मौलिक र रैथाने बालीलाई ठुला ठुला बजारसम्म पुर्याउन पहल समेत भइरहेका छन ।

रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोड दिएको छ । रैथानले बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट