Techie IT
Hetauda Khabar

४७ करोड लगानीमा हेटौँडामा धुलो दूध कारखाना


हेटौंडा । बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश दुग्ध विकास बोर्डको ४७ करोड लगानीमा हेटौँडा–१०, सिसौघारीमा धुलो दूध कारखाना स्थापना भएको छ । दूध कारखाना सञ्चालनपछि किसानले उत्पादन गरेको दूध नबिकेर ‘मिल्क होलीडे’ गर्नुपर्ने बाध्यता हट्ने भएको हो ।

आवश्यक भौतिक निर्माण र उपकरण जडान सकिएसँगै कारखानामा परीक्षण उत्पादन सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ । निर्माण कम्पनी इजी इन्फ्रा प्रालिका म्यानेजर उत्तम पौडेलले धुलो दूध कारखाना निर्माण सम्पन्न भईसकेको र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको जानकारी दिए । पानी, ग्यास र हावा राखेर पालैपालो परीक्षण गरी सफल भएपछि दूध हालेर धुलो दूध र बटर उत्पादन सुरु हुने उनले बताए । भारतीय प्रविधिमा बनेको धुलो दूध कारखाना प्रदेश सरकारलाई हस्तान्तरण भएपछि एक बर्षसम्म मर्मत संभार, प्राविधिक समस्या आएमा निर्माण कम्पनीले सहजिकरण गर्नेछ ।

२०७७ साल पुस १ गते ठेक्का सम्झौता गरिएको दूध कारखानाको तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए । एक वर्षभित्र सम्पन्न गर्नेगरी इजी इन्फ्रा प्रालिसँग २०७७ पुस १ गते ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएता पनि कोरोना महामारी र अन्य विविध कारणले तीन पटक म्याद थप गरी कारखाना तयार गरिएको प्रदेश दुग्ध विकास बोर्ड उपाध्यक्ष टिका बल्दब सापकोटाले जानकारी दिए । सुरुमा ४१ करोड २२ लाख रुपैयाँ अनुमान गरिएता पनि पछि काम बढेकाले कारखानाको लागत ४७ करोड पुगेको उपाध्यक्ष सापकोटाको भनाई छ ।

धुलो दूध कारखाना निर्माण अन्तिम चरणमा रहँदा पनि त्यस कारखाना कसरी सञ्चालन गर्ने र जनशक्ति व्यवस्थापन र अन्य व्यवस्थापन कसरी गर्ने भन्ने निक्र्यौल भने भइसकेको छैन । दुध कारखाना सञ्चालन गर्नका लागि दूध ट्यांकर, मेकानिकल इन्जिनियर, डेरी टेक्निसियनलगायतका जनशक्ति डीडीसीसँग रहेकाले तत्काललाई उसैलाई सञ्चालन गर्न दिने छलफल भइरहेको उपाध्यक्ष सापकोटाको भनाइ छ ।

धुुलो दूध कारखाना दैनिक ६० हजार लिटर दूध खपत गर्नसक्ने क्षमताको रहेको छ । कारखानाबाट प्रतिदिन ५ मेट्रिक टन र प्रतिवर्ष एक हजार पाँच सय टन धुलो दूध उत्पादन गर्न सकिने भएको छ । कारखानाबाट बटरसमेत उत्पादन गरिने छ । दुई विगाह क्षेत्रफलमा दुध कारखाना र त्यसका लागि आवश्यक संरचना निर्माण भएका छन । धुलो दूध कारखाना निर्माण भएसँगै बागमती प्रदेशसहित अन्य प्रदेशका दुग्ध किसानले उत्पादन गरेका दूधको सहज बजारीकरण गर्न सकिने भएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट