Techie IT
Hetauda Khabar

२० अंकले घट्यो सेयर बजार


यो साताका अघिल्ला तीन दिन लगातार घटेको नेप्से बुधबार झिनो अंकले बढे पनि त्यो सुधार बिहीबारसम्म पनि टिकेन । अघिल्ला तीन दिन (आइतबार, सोमबार र मंगलबार) करिब ६८ अंकले घटेको नेप्से बुधबार ५.१६ अंकले बढेको थियो ।

यद्यपि त्यो सुधार बिहीबारसम्म पनि टिक्न पाएन । जसअनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २०.१६ अंकले घटेर १ हजार ८ सय ७४.६० विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.०६ प्रतिशतले कम हो ।

गत बिहीबार नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार देखि मंगलबारससम्म नेप्सेमा लगातार गिरावट आएको थियो ।

यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ । पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रुपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ । यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो ।

बिहीबार ६२ हजार ४६ वटा कारोबारबाट ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब ७० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । गत बुधबार सेयर बजारमा १ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।बिहीबार कारोबारमा आएकामध्ये २१० वटा कम्पनीको सेयर मूल्य घट्यो । २३ वटा कम्पनीको बढ्यो भने ४ वटाको सेयर मूल्य स्थिर छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट