Techie IT
Hetauda Khabar

कृषि क्रान्तिका कुरा गर्ने बकैया अध्यक्ष, उपाध्यक्षको कर्तुत- आफैले अबैध धन्दा चलाएर ३ करोड झ्वाम !


कृषिमा क्रान्ति ल्याउनुपर्छ र गाउँपालिकामा कृषिमा आधुनिकीकरण भित्र्याउने भन्दै चिल्ला कुरा गर्ने व्यक्ति हुन् मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने ।

उनि बेला-बेला कृषि क्रान्तिकै लागि विभिन्न देश घुम्छन् र आफ्नो पालिकालाई पनि अन्य मुलुकको जस्तै सिको गर्ने गरी लैजाने बताउछन् । तर तिनै कृषि क्रान्तिका कुरा गर्ने अध्यक्ष र उनलाई साथ दिने पालिका उपाध्यक्ष मिलेर ३ करोड राजस्व हिनामिना गरेका छन् ।

कृषि क्रान्तिका कुरा गर्ने पालिका अध्यक्ष लामिछानेले कृषिमा होइन गिट्टी बालुवामा भने ठुलो क्रान्ति गरेको खुलेको छ । आफ्नै बालुवा उद्योगले झन्डै ३ करोड राजस्व हिनामिना पारेर गुपचुप मै राज्यको त्यति ठुलो रकम झ्वाम पारिएको छ ।

बकैयामा नदीजन्य पदार्थ उत्खनन् पश्चात जिल्ला समन्वय समितिले नापजाँच गर्दा बढी परिमाण देखिएपछि पालिका अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा गाउँपालिकाले जरिवाना नतिराई कार्यपालिकाको बैठकबाट निर्णय गरेर ठेक्का प्रक्रियाबाट सामग्री लिलाम बिक्री गरेको भेटिएको हो । यसो गर्दा राज्यलाई तिर्नुपर्ने झन्डै ३ करोड रुपैंया गुमेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा ३०/३० हजार घनमिटरका दरले दुई वटा सूचना निकालेर गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन् गरेको थियो । जसमा बकैया गाउँपालिकाकै स्थानीय फर्महरु न्यू दिपशिखा निर्माण सेवा र एएससी कन्ट्रक्शन एण्ड मल्टिप्रपोज प्रालिले उत्खनन्को ठेक्का पारेका थिए । ३० हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्नुपर्ने सम्झौता गरेर खोलामा छिरेको न्यू दिपशिखा निर्माण सेवाले सम्झौता भन्दा तीन गुण बढी परिमाणमा नदीजन्य पदार्थ घाटगद्दी गरेको जिल्ला अनुगमन समितिको अनुसन्धानबाट खुल्न आएको थियो  ।

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले न्यू दिपशिखा निर्माण सेवाको फरक देखिएको मौज्दात ४५ हजार ५ घनमिटर, दिपशिखासँग खरिद गरेका बकैया ठाकुर बालुवा उद्योगको फरक देखिएको मौज्दात १५ हजार ६ सय ६२ र शिवभक्ति पार्वती बालुवा उद्योगको फरक मौज्दात ११ हजार ७ सय २९ गरी कुल ७२ हजार ३ सय ९६ घनमिटर नदीजन्य पदार्थ कानुनविपरित घाटगद्दी गरेको प्रमाणित गरेको थियो । जसअनुसार उत्खनन् गर्ने दिपशिखा, नदीजन्य पदार्थ खरिद गरेर गैरकानुनी तवरबाट घाटगद्दी गर्ने बकैया ठाकुर बालुवा उद्योग र शिवभक्ति पार्वती बालुवा उद्योगलाई समितिले जरिवाना लगाएको हो ।

जरिवानामा परेका उद्योग बकैयाकै अध्यक्ष र उपाध्यक्षको रहेको खुलेको छ । आफ्नै उद्योगले बढी उत्खनन् गरी राजस्व तिर्नुपर्ने भएपछी राजस्व नै नतिरी सामान बिक्री गरिएको पाइएको हो ।

दिपशिखा निर्माण सेवा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ तत्कालीन गृहराज्यमन्त्री हुँदा स्वकीय बसेका दिपक घलानको फर्म हो । बकैया ठाकुर बालुवा उद्योग पनि बकैयाकै कांग्रेसका स्थानीय नेता तुल्सी लामिछाने र चन्द्र राईको हो । बकैया ठाकुर उद्योग २०७३ सालमा कांग्रेसका पाँच जना नेताहरुको श्रीमतीको नाममा दर्ता छ । शिवभक्ति पार्वती बालुवा उद्योग भने गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको एकल स्वामित्वमा रहेको छ । उपाध्यक्ष खत्रीले भने उक्त उद्योग आफ्नो भएको स्वीकार गरेका छन् ।

न्यू दिपशिखा निर्माण सेवाले जिल्ला अनुगमन समितिले तोकेअनुसार ३ करोड ४४ लाख १० हजार ७ सय ३२ रुपैयाँ जरिवाना तिर्नुपर्ने थियो ।

अध्यक्ष लामिछानेको लगानी रहेको भनिएको बकैया ठाकुर बालुवा उद्योगले १५ हजार ६ सय ६२ घरमिटर नदीजन्य पदार्थ घाटगद्दी गरेकाले १ करोड १९ लाख ७५ हजार १ सय ३३ रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । उपाध्यक्ष खत्रीको एकल स्वामित्वमा रहेको शिवभक्ति पार्वती बालुवा उद्योगले ८९ लाख ६७ हजार ९ सय ६९ रुपैयाँ जरिवाना तिर्नुपर्ने थियो । तर अध्यक्ष, उपाध्यक्ष मिलेर उक्त राजस्व झ्वाम पारेका छन् ।

गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन्को सम्झौता विपरित बढी परिमाण मौज्दात गरेका निजी क्षेत्रलाई बिना सर्त जरिवाना लगाउनुपर्ने हुन्छ । तर, पालिकाले भने जिल्ला अनुगमन समितिले तोकेको जरिवाना रकममा पनि घटाएर गत पुष ५ मा बसेको कार्यपालिका बैठकले निर्णय नै गरेर  लिलाम बिक्री गरेको हो ।

यसरी अध्यक्ष लामिछाने र उपाध्यक्ष खत्रीकै मिलेमतोमा २ करोड ९७ लाख ४८ हजार ६ सय ८५ रुपैयाँ राजश्व हिनामिना भएको छ । कानुनविपरित घाटगद्दी गरिएको नदीजन्य पदार्थ ७२ हजार ३ सय ९६ घनमिटरको सुत्रअनुसार प्रदेशको आर्थिक ऐनले तोकेको जरिवाना रकम ५ करोड ५३ लाख २२ हजार ४ सय ७५ हुन आउँछ । तर, गाउँपालिकाले भ्याट बाहेक २ करोड ५५ लाख ७३ हजार ७ सय ९० रुपैयाँ बराबरको मात्रै लिलाम बिक्री गरेको हो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट