Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

भारी वर्षाको सम्भावना : मकवानपुरका मुख्य सडकमा सवारी आवागमनको समय तोकियो


लगातार भारी वर्षाको सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका प्रमुख सडक तथा राजमार्गमा सवारी आवागमनको समय निर्धारण गरेको छ ।

ADVERTISEMENT

मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि असोज ११ गतेसम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रशासनले सडक तथा राजमार्गमा बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा समयसीमा तोकेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक गरेको सूचनाअनुसार कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र सवारी सञ्चालन गर्न पाइनेछ । उक्त समयमा चौघडाबाट काठमाडौंर्फ सवारी साधन प्रस्थान गर्न दिइने प्रशासनले जनाएको छ ।

त्यसैगरी भैंसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिइने भएको छ । हेटौंडास्थित चौकीटोलबाट काठमाडौं तथा फाखेलस्थित हुमाने र सिस्नेरीस्थित रामचन्द्रभञ्ज्याङबाट हेटौंडातर्फ सवारी साधन प्रस्थान गर्न दिइने सूचनामा उल्लेख छ ।

प्रशासनले उल्लेखित सडक तथा राजमार्गमा बेलुका ७ बजेपछि रातिको समयमा सवारी आवागमन पूर्णरुपमा रोक लगाउने निर्णयसमेत गरेको छ ।

भारी वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको उच्च जोखिम हुन सक्ने भएकाले मानवीय तथा भौतिक क्षति हुन नदिन सवारी आवागमनको समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनले निर्धारित समयअनुसार मात्र सवारी सञ्चालन तथा यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । साथै, मौसमको अवस्था तथा सडकको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।


प्रकाशित मिति : बुधबार, २०८३ अशोज ७, १५ :०१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट