बाढीपीडितका लागि श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा ५ लाख २५ हजार सहयोग
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्यसमिति मकवानपुर हेटौंडाले ५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको छ।
समितिले संकलन गरेको उक्त रकम बिहीबार (हिजो) मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई हस्तान्तरण गरेको हो। समितिका अध्यक्ष श्रीराम खतिवडाले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष/प्रधानमन्त्री राहत कोषमा जम्मा गरी बाढीपीडितको राहत तथा पुनःस्थापनामा उपयोग गर्न आग्रहसहित रकम हस्तान्तरण गरेका हुन्।
समितिले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइएको जनाएको छ।
रकम हस्तान्तरण गर्दै समितिले विपद्को दुःखद् घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै प्रणामी समाजको तर्फबाट गरिएको सहयोगले राहत तथा पुनःस्थापनाको कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले विपद्का बेला गरिएको सहयोगले प्रभावित नागरिकको राहतमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्यसमिति मकवानपुर हेटौंडाले गरेको यो सहयोगले भोटेकोशी बाढीपीडितप्रति सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको छ।
प्रकाशित मिति : शुक्रबार, २०८३ भदौ २६, १४ :४२ बजे










प्रतिक्रिया