Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

बाढी प्रभावित पत्रकारलाई पत्रकार महासंघ बागमतीको आर्थिक सहयोग


रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आर्थिक सहयोग गरेको छ ।बाढीका कारण परिवारका पाँच सदस्य गुमाएका रसुवाका पत्रकार निराजन पौडेलसहित बाढी प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई महासंघले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

ADVERTISEMENT

भोटेकोशीको बाढीमा पौडेलका बुवा, आमा, काका, काकी र बहिनीसहित परिवारका पाँच सदस्यको ज्यान गएको छ । बाढीले उनको घर तथा सम्पत्तिसमेत बगाएको छ । हाल काठमाडौंको टोखामा आफन्त गुमाएको शोकमा किरियामा रहेका पौडेल रातोपाटी अनलाइनमा कार्यरत पत्रकार तथा नेपाल पत्रकार महासंघ रसुवा शाखाका सदस्य हुन् । उनको स्थायी घर नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे हो ।

महासंघका अनुसार रसुवाका पौडेलसहित नुवाकोटका किरण अधिकारी र सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल तथा नुवाकोटका बेपत्ता पत्रकार राजकुमार नेपालीका परिवारलाई आर्थिक सहयोग गरिएको छ । प्रभावित पत्रकार तथा परिवारको अवस्थाका आधारमा सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।

महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरको अगुवाइमा नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल र धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकार तथा परिवारलाई भेटेर सहयोग गरिएको हो ।

पत्रकारिता क्षेत्रसमेत प्रभावित
बाढी तथा पहिरोले पत्रकारका घरपरिवारमा क्षति पुर्‍याउनुका साथै उनीहरूले काम गर्ने सञ्चारमाध्यम र समाचार संकलन तथा सम्प्रेषणको वातावरणसमेत प्रभावित भएको महासंघले जनाएको छ ।
बाढीका कारण कतिपय स्थानमा सडक तथा यातायात अवरुद्ध हुँदा समाचार संकलनमा कठिनाइ भएको छ । विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा समाचार सम्प्रेषणमा समस्या देखिएको छ भने सञ्चार सामग्री तथा उपकरणमा समेत क्षति पुगेको महासंघको भनाइ छ ।

महासंघ बागमती प्रदेश अध्यक्ष मगरले विपद्को समयमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सूचना प्रवाह गरिरहेका पत्रकारहरूको सुरक्षा र आवश्यक सहयोगमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताए । उनले प्रभावित पत्रकारका लागि सुरक्षित कार्य वातावरण, सञ्चार सेवा, आवश्यक उपकरण, राहत तथा उद्धारको व्यवस्था गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ सबै पत्रकारको अभिभावक संस्था भएकाले विपद्मा परेका पत्रकारको पुनःस्थापना तथा बेपत्ता पत्रकारको खोजीमा महासंघले आफ्नो भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।

अध्यक्ष मगरले विपद्बाट प्रभावित पत्रकार तथा परिवारलाई थप सहयोग गर्न सबै पक्षसँग अपिलसमेत गरेका छन् । महासंघले रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा फसेकाहरूको तत्काल उद्धार, बेपत्ताको खोजी तथा घाइतेको प्रभावकारी उपचारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


प्रकाशित मिति : आइतवार, २०८३ भदौ २१, २० :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट