उद्योगमन्त्रीमाथि हेटौंडाका सांसदको अपमानजन्य व्यवहार, पूर्वजानकारी हुँदाहुँदै जंगिए गौतम
हेटौंडा कपडा उद्योगको अनुगमनका क्रममा हेटौंडा आएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमबिच सवारीसाधनभित्रै भनाभन भएको छ। नेपाली सेनाले परीक्षण उत्पादन गरिरहेको उद्योगको निरीक्षणका लागि मन्त्री हेटौडा पुग्दा मन्त्रीमाथि यहाँका सांसद गौतम जंगिएका हुन् ।
सांसद गौतम उद्योगमन्त्रीको गाडी नजिकै पुगेर आफ्नो क्षेत्रमा आउँदा पूर्वजानकारी नदिइएको भन्दै कड्किएको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ । भिडिओमा गौतमले मन्त्रीसमक्ष असन्तुष्टि जनाउँदै भनेका छन् , “आफ्नो निर्वाचन क्षेत्रमा संघीय मन्त्री आउँदा कम्तीमा हामीलाई खबर गर्नुपर्थ्यो । “यतिबेला आउदैछु यहाँ आउदैछु भन्नु पर्यो मन्त्रि ज्यू, यस्तो हल्का नबनाई दिनुस, मैले यो कुरा रबि दाईलाई पनि भनिसके।”
सांसद गौतमले मन्त्री यादवलाई झर्किएको भिडिओ खिच्ने संचारकर्मीलाई समेत नखिच्न भन्दै रोकेका थिए ।
घटनाबारे स्पष्ट पार्दै उद्योगमन्त्रीका प्रेस सल्लाहकार कमल चौलागाईंले सांसद गौतमलाई अघिल्लो दिन नै फोनमार्फत अनुगमनको जानकारी गराइएको दाबी गरे । चौलागाईंका अनुसार फोन संवादका क्रममा मकवानपुरकै अर्का सांसद प्रशान्त उप्रेतीलाई समेत खबर गर्ने विषयमा कुरा हुँदा सांसद गौतमले “यो मेरो निर्वाचन क्षेत्र हो, उसलाई (उप्रेतीलाई) खबर गर्नुपर्दैन” सम्म भन्नुभएको थियो।
“भोलिपल्ट बिहान मन्त्रीज्यू आउँदै हुनुहुन्छ भनेर मैले अघिल्लो साँझ नै उहाँलाई फोन गरेर जानकारी गराएको थिएँ,” चौलागाईंले हेटौंडाखबर संग भने, “उहाँले प्रधानमन्त्री कार्यालयबाट समेत जानकारी पाइसकेको भन्नुभएको थियो। पूर्वसूचना हुँदाहुँदै आज एक्कासी आएर गाडीभित्रै मन्त्रीज्यूमाथि यसरी जंगिनुको कारण हामीले बुझ्न सकेका छैनौँ।”
उता सांसद गौतमका सचिवालय प्रमुख किश्वोर अर्यालले भने मन्त्री आउने कुरा पूर्वजानकारी नभएको बताए ।
संसदीय अभ्यास अनुसार संघीय मन्त्री आफ्नो विभागीय काम वा अनुगमनका लागि जिल्ला प्रवेश गर्दा स्थानीय जनप्रतिनिधिलाई पूर्वजानकारी गराउने स्थापित शासकीय शिष्टाचार रहँदै आएको छ। तर, पूर्वसूचना प्राप्त भइसकेको अवस्थामा पनि मन्त्री बसेकै गाडीमै पुगेर आक्रोश पोख्नु र सञ्चारकर्मीहरूतर्फ औँला तेर्स्याउँदै “क्यामेरा नखिचौँ” भन्दै क्यामेरा रोक्ने प्रयास गर्नुले सांसदको व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ।
सार्वजनिक भएको भिडियोका आधारमा मन्त्रीमाथि अपमानजनक व्यवहार गरेको र घमण्डीपन देखाएको भन्दै अहिले राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा सांसद गौतमको चौतर्फी आलोचना र टिकाटिप्पणी भइरहेको छ।
प्रकाशित मिति : शनिबार, २०८३ भदौ ६, २१ :४६ बजे









प्रतिक्रिया