Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध हेटौँडामा सडकमै उत्रिए व्यवसायी


हेटौँडा । सरकारले जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ को विरोधमा देशभर सुरु भएको आन्दोलनअन्तर्गत शुक्रबार हेटौँडामा पनि शैक्षिक परामर्शदाता संस्थाका सञ्चालकहरू सडकमा उत्रिएका छन्।

ADVERTISEMENT

इक्यान मकवानपुरको आयोजनामा शुक्रबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हेटौँडाको स्कूलरोड चोकमा व्यवसायीहरूले हातमा कालोपट्टी बाँध्दै र विभिन्न मागसहितका प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनमार्फत उनीहरूले सरकारले ल्याएको नियमावली तत्काल संशोधन गर्न माग गरेका छन्।

प्रदर्शनमा सहभागी व्यवसायीहरूले नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई अनावश्यक रूपमा नियन्त्रण गर्न खोजेको, निजी क्षेत्रलाई निरुत्साहित बनाउने तथा व्यवसाय सञ्चालनमा थप जटिलता सिर्जना गर्ने प्रावधान समेटिएको भन्दै विरोध जनाएका थिए।

इक्यान मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडाले सरोकारवालासँग पर्याप्त छलफल र परामर्श नगरी नियमावली ल्याइएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए। उनका अनुसार राष्ट्रिय आन्दोलन कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि चरणबद्ध रूपमा विरोधका कार्यक्रम सञ्चालन भइरहेको हो।

यसअघि शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध १५ वटा राष्ट्रिय संगठनहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै नियमावली तत्काल संशोधन गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले नियमावलीका कतिपय व्यवस्थाले शैक्षिक परामर्श संस्थाको अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना गरेको दाबी गरेका छन्।

आन्दोलनरत संस्थाहरूले अनुमतिपत्रको अवधि तथा नवीकरण पाँच वर्षको हुनुपर्ने, शैक्षिक मेलाको स्पष्ट वर्गीकरण गरिनुपर्ने, विदेश अध्ययनसम्बन्धी शैक्षिक मेला, प्रदर्शनी तथा सेमिनार सञ्चालनको अनुमति दिइनुपर्ने, जटिल मापदण्ड तथा धरौटीको व्यवस्था हटाइनुपर्ने, विदेशी शैक्षिक संस्थाबाट प्राप्त हुने सेवा शुल्क लिन पाउने व्यवस्था कायम गरिनुपर्ने, समता कर तथा दोहोरो विवरण पेस गर्ने व्यवस्था हटाइनुपर्ने लगायतका माग अघि सारेका छन्।

व्यवसायीहरूले आफ्ना मागप्रति सरकारले तत्काल सुनुवाइ नगरे आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।


प्रकाशित मिति : शुक्रबार, २०८३ साउन १, १४ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट