Techie IT
Hetauda Khabar

माइती गाउँमै सिडिओविरुद्ध मुर्दावादको नारा, एमालेको ट्याग, डोरमणिले चलाएको आरोप !

सात घण्टा प्रहरीको नाटक, बैठक बस्ने भनि हिरासतको आदेश


मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ विरुद्ध आज हेटौडामा नाराबाजी भयो । सम्भवत मकवानपुरमा प्रजिअविरुद्ध राजनीतिक दल सँग जोडिएर नाराबाजी भएको पहिलोपटक हो।

श्रेष्ठको मकवानपुर जिल्ला माइती घर हो। उनको घर मकवानपुर जिल्लामा नै हो। तर आफ्नै माइती गाउँमा उनी विरुद्ध नेकपा एमालेसँग जोडिएर नाराबाजी भयो ।

घटना के हो ?

हेटौडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै एउटा सङ्घर्ष समिति निर्माण भएको छ। जसको संयोजक हुन् विशालराज महत। उनलाई अन्य युवाहरुले समेत साथ दिई विभिन्न विरोधका कार्यक्रमहरु भइरहेका छन्। जसको काम भनेको हेटौडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने, चल अचल सम्पत्ति प्रतिष्ठानमै हुने गरी जारी गरिएको ऐन सच्याउनु पर्ने, यदि त्यसो भए सरकारी अस्पतालको अस्तित्व मेटिने, स्वास्थ्यका नाममा भ्रष्टाचार बढ्ने, राजनीतिक पहुँचका आधारमा कर्मचारी भर्ती गर्ने, स्वास्थ्यका नाममा आर्थिक अपचलन हुने भन्दै यस विरुद्ध संघर्ष समितिले हस्ताक्षर अभियान, जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र, मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र लगायतका विविध कार्यक्रम गर्दै आएको थियो।

यसैबीच हेटौडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौडाका अधिवक्ता केशव गौतमले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ। मुद्दा विचाराधीन अवस्थामा रहँदाको बखत हेटौडा अस्पतालमा राखिएको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौडा अस्पताल भनि लेखिएकोले संघर्ष समितिले त्यसको विरोध स्वरूप गत चैत ३० गते बोर्डमा हेटौडा अस्पताल मात्र राखी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रङ पोतेर छोपिदियो ।

त्यस लगत्तै प्रतिष्ठानले बोर्ड तोडफोड लगायत अराजक गतिविधि गरेको भन्दै जिल्ला प्रहरी कार्यालय समक्ष उजुरी दिएको थियो। प्रजिअ श्रेष्ठले पनि तत्काल पक्राउ गर्नु भन्ने आदेश जारी गरेको सूचनाहरू बाहिरिएका थिए। यद्यपि प्रहरीले भने उजुरीका आधारमा पक्राउ गर्छौं भनेको थियो ।

प्रहरी घरघरमा पुगेर त्रसित बनाउन थालेपछि छ जना हेटौंडाका युवाहरू आज बिहान १० बजे जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए । तर जिल्ला प्रहरी प्रमुख भने जिल्ला प्रशासन कार्यालयको बैठकमा रहेको प्रहरीले बतायो । सर्वपक्ष बैठक बसी विवाद टुङ्ग्याउने भनी १० देखि ५ बजेसम्म आरोपित युवाहरू, अस्पताल बचाउ सङ्घर्ष समितिका पदाधिकारीहरू, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू, राजनीतिक दलका नेताहरू सम्पूर्णलाई खबर गरी प्रहरी कार्यालयमा बोलाइएको थियो । तर प्रजिअ श्रेष्ठले प्रहरी प्रशासनलाई आदेश दिएपछि प्रहरी प्रमुख एसपी विश्वराज खड्काले डिएसपी स्यामु अर्याललाई फोन गरी हिरासतमा राख्न र कसैलाई पनि नछोड्न आदेश दिए ।

त्यसपछि उपस्थित राजनीतिक दलका पदाधिकारीहरु र समितिका व्यक्तिहरु आक्रोसित बने ।

यसै घटनाका विषयमा यस अघिपनि सर्वदलीय बैठक बसेको थियो। जहाँ प्रजिअ श्रेष्ठसमेत उपस्थित थिइन्। तर उनले नेकपा एमालेको पक्षमा बढी लचिलो देखिएको र अन्य पक्षको कुरामा सुनवाई नगरेको बैठकमा उपस्थित एक नेताले भने ।

यता संघर्ष समितिले पनि प्रजिअ श्रेष्ठले एमाले नेताहरूले भनेको कुरा मात्र सुन्ने गरेको आरोप लगाएको छ । हेटौंडा अस्पतालमा प्रतिष्ठानलाई गाभ्ने विषयको अगुवाई पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् । उनले यसको अवधारणा बनाएका थिए । जब हेटौंडा अस्पताल र प्रतिष्ठान अलग गर्ने कुरा निस्किन्छ जिल्लाको राजनीतिमा उनि निकै सलबलाउने गर्छन भन्ने आरोप पनि छ । पछिल्लो घटनामा पनि पुर्व मुख्यमन्त्री पौडेलले नेता, सिडिओ र हालका मुख्यमन्त्री सम्मलाई दबाब दिएको संघर्ष समिति र अन्य राजनीतिक दलको आरोप छ । प्रजिअ श्रेष्ठ एमाले भएकै कारण डोरमणि पौडेलको कुरा काट्न नसकेर मुद्दा चलाएको उनीहरुको भनाई छ ।

प्रहरीको नाटक कसरि सुरु भयो? 

आजको घटनामा प्रहरीले नाटकीय ढंगले ७ घण्टा होल्ड गराएर ६ जनालाई हिरासतमा राख्यो । बोर्ड केरमेटमा राजनीतिक दलसंग जोडिएका ब्यतिहरु भएकाले र प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भने जस्तो तोडफोडको घटना नभएकाले सर्वदलीय बैठक बसी यो विषय टुंग्याउने मनसायमा प्रहरी थियो । नेकपा एमालेबाहेकका सबै राजनीतिक दलले उक्त समितिको आन्दोलनमा एक्यबद्धता जनाएकाले र प्रतिष्ठान गाभ्ने विषयमा चौतर्फी विरोध भैरहेकाले पनि थप विवादित बनाउन नहुने पक्षमा केही दलहरु थिए । प्रहरी संग पनि उनीहरुको सकारात्मक कुरा भैरहेको थियो । घटना भएको ६ दिन भैसक्दा समेत प्रहरीले कसैलाई समाउन सकेको थिएन । यसबारे प्रतिष्ठान र एमाले केहि नेताहरुले प्रहरीलाई दवाब दिईरहेका थिए । बोर्ड मेट्ने बेला प्रयोग गरिएको एक म्याजिक र चालकलाई नियन्त्रणमा लिएपछी प्रहरीलाई थप दवाब बढेको थियो । यो संगै केही राजनीतिक दलका नेता संग प्रहरीले आग्रह गर्यो, उहाहरुलाई बोलाइदिनुस सबैजना बैठक बसी विवाद समाधान गरौँ ।

प्रहरीबाट सकारात्मक कुरा आएपछी बिहानै ६ जना युवाहरु प्रहरी कार्यालयमा पुगे । डिएसपी अर्यालले भने एसपी साब बैठकमा जानु भएको छ १२ बजेतिर बस्ने भन्नुभएको छ। १ बजेसम्म एसपी खड्का कार्यालय आएनन् । डिएसपीले पुनः भने २ बजे बस्ने रे बस्दै गरौँ । ४ घण्टा बितिसक्दा पनि प्रहरीले न पक्राउ पुर्जी थमाउन  सक्यो न छलफल गर्न सक्यो । उपस्थित युवाहरुले पटक-पटक आग्रह गरे, पक्राउको तयारी हो भने हामी यहीं छौ रित पुर्वक थुनामा राखियोस् तर डिएसपी अर्यालले भनिरहे त्यस्तो तयारी छैन एसपी साब आएपछि छलफल गरिने कुरो छ ।

३ बजे पुनः भने ४ बजे बस्ने कुरो भयो आउदै हुनुहुन्छ रे । पौने ५ बजेतिर एसपीको आदेशमा प्रतिष्ठानका मेसु र रजिष्ट्रारलाई छलफलमा बस्न बोलाए डिएसपी अर्यालले । लगभग १० मिनेटमा उनीहरु पनि आइपुगे । ५ बजिसकेको थियो । कुर्सिको अपुग हुन सक्छ कुर्सि मिलाउछु भन्दै छलफल कक्ष व्यवस्थापन गर्दै थिए डिएसपी अर्याल । त्यतिकैमा एसपीको फोन आयो डिएसपी अर्याललाई, र आदेश गरे त्यहाँ आएका सबैलाई हिरासतमा राख्नु कसैलाई नछोड्नु  ।

प्रहरीले नै झुक्याएर जब छ जना युवालाई हिरासतमा राख्यो एकैछिनमा जिल्ला प्रहरी कार्यालय बाहिर नाराबाजी चल्न सुरु गर्यो । उपस्थित प्रदर्शनकारीले मुख्य नारा नै एमाले सिडियो फिर्ता हो, एसपी मुर्दाबाद, प्रहरी दमन बन्द गर, हेटौंडा अस्पताल गाभ्न पाइदैनलगायतका बनाए । सम्भवत मकवानपुरमा कुनै पार्टीसँग जोडिएर सिडिओको विरोध भएको यो पहिलो घटना हो।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट