Techie IT
Hetauda Khabar

उत्पीडित जातीय मुक्ति समाज हेटौंडामा ईश्वरी रसाईली


उत्पीडित जातीय मुक्ति समाज हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा ईश्वरी रसाईली सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। नेकपा एमालेको पार्टी कार्यालय मकवानपुर सभाहलमा सम्पन्न तेस्रो नगर अधिवेशनले रसाईलीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा गोमा सुनार र सिंग बहादुर विश्वकर्मा चयन भएका छन्। सचिवमा मनिषा विश्वकर्मा, उपसचिवमा शान्ति मिजार र सरस्वती सुनार तथा कोषाध्यक्षमा प्रकाश विश्वकर्मा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा गिता परियार, पार्वती परियार, प्रविता सुनार, भगवती विश्वकर्मा, रिता सुनार, मुना विश्वकर्मा, चन्द्र बहादुर विश्वकर्मा, लक्ष्मी नेपाली, धन कुमार विश्वकर्मा, विष्णु परियार, दिल बहादुर सुनार, सम्झौता विक, रञ्जु सुनार, पुजा मग्राती, रिता सुनार र गीता सुनार निर्वाचित भएका छन्।

कार्यक्रममा अध्यक्षमा निर्वाचित रसाईलीले समाजमा नेतृत्व विकास, दलित समुदायको अधिकार संरक्षण र सशक्तिकरणमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरिन्। “हामी दलित समुदायमाथिको विभेद र अन्यायविरुद्ध एकजुट भएर लड्नेछौं,” उनले भनिन्, “सामाजिक न्यायको प्रत्याभूति दिलाउन हामी निरन्तर संघर्षरत रहनेछौं।” अधिवेशनका प्रमुख अतिथि तथा नेकपा एमालेका नेता कमल कुमार विश्वकर्माले मुक्ति समाजको उद्देश्य स्पष्ट पार्दै जातीय छुवाछूत अन्त्य गर्न र अन्यायमा परेका दलित समुदायलाई न्याय दिलाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “मुक्ति समाज भनेको एमालेको जनसंगठनको नर्सरी हो। नर्सरीमा उत्पादन हुने बिरुवा जस्तै नेतृत्व उत्पादन गर्न पार्टीले मालीको भूमिका खेल्नुपर्छ।” उनले पार्टीलाई चुनावको बेला मात्र होइन, सधैंको लागि मुक्ति समाजलाई सँगै लिएर जानुपर्नेमा जोड दिँदै, जनसंगठनप्रति दीर्घकालीन अपनत्व आवश्यक रहेको बताए।

अधिवेशनमा नेकपा एमाले मकवानपुरकी सचिव सीता बिष्ट, मुक्ति समाजका केन्द्रीय सदस्यहरू सरिता परियार र शर्मिला बिक, जनसंगठन समन्वय संयन्त्र संयोजक सन्तोष पौडेल, मकवानपुर अध्यक्ष गोविन्द विश्वकर्मा, हेटौंडा उपमहानगरपालिका अध्यक्ष बोलबहादुर कार्की, प्रदेश कमिटी सदस्य सपना विश्वकर्मा, पालिका जनसंगठन समन्वय संयन्त्र सचिव सुरेश बेरोजगार, दलित अभियन्ता सानोभाइ विश्वकर्मा, मुक्ति समाज मकवानपुर उपाध्यक्ष पदम बहादुर विश्वकर्मा, सचिव सुदन विश्वकर्मा, जिल्ला स्कुल विभाग सचिव कुमार केसी, अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौलालगायतको उपस्थिति रहेको थियो।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट