हेटौंडामा बिल बिजक नै फर्जी जारी गरी खुलेआम चुनढुङ्गा तस्करी

मकवानपुरमा खानीजन्य पदार्थको खुलेआम चोरीनिकासी हुने गरेको छ । राज्यलाई बुझाउनुपर्ने विभिन्न कर नतिरी, भ्याट बिल समेत फर्जी जारी गरी खुलेआम चुनढुङ्गाको तस्करी हुने गरेको हो ।
सम्बन्धित निकायले चासो नदिँदा मकवानपुरमा यस्ता खानी जन्य पदार्थ, तथा नदीजन्य पदार्थको चोर बाटो प्रयोग गरी चोरी निकासी बढ्दै गएको हो । मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा रहेका खानीबाट खुलेआम चोर बाटो प्रयोग गरी विभिन्न कम्पनीहरुले राजस्व,निकासी करलगायतका विभिन्न कर नतिरी नक्कली बिलविजक जारी गरी यस्ता पदार्थको चोरी निकासी गर्ने गरेका छन् ।
केही समयअघि मकवानपुरगढी स्थित खोरेटार खानीबाट शिवम् सिमेन्ट उद्योगका लागि निकालिएको चुनढुंगा उद्योगमा नलगी चोर बाटो प्रयोग गरी राजस्व छली, पाउडर फ्याक्ट्रीमा निकासी गर्ने गरिएको समाचार हेटौडा खबरबाट प्रकाशित भएको थियो । त्यस्तै मकवानपुर कै पञ्चकन्या खानीबाट चोर बाटो प्रयोग गरी भ्याट बिल समेत फर्जी जारी गरी चुनढुंगा निर्यात गर्ने गरिएको पाइएको छ । मंगलबार बिहान मकवानपुरको पञ्चकन्या खानीबाट बिल बिजकनै जारी नगरी हेटौंडा आउँदै गरेको तीनवटा टिपर मकवानपुरगढी गाउँपालिका स्थित बाँसपानीमा प्रहरी पोष्ट शिखरकटेरीले नियन्त्रणमा लिएको थियो । १ दिन उक्त टिपर चौघडा प्रहरीको नियन्त्रणमा रहेको थियो । बा. बागमती प्रदेश ०३००२ ख १०४१, बागमती प्रदेश ०३००१ ख १०३८ र बागमती प्रदेश ०३००१ ख १०८० नम्बरको टिपर प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी शिखर कटेरीका एक प्रहरी अधिकारीका अनुसार बिल बिजक नै जारी नगरी ल्याइएकाले उक्त मालवाहक टिपर नियन्त्रणमा लिईएको हो । प्रहरीको नियन्त्रणमा रहेको टिपर प्रहरीले गाउँपालिकालाई बुझाएको थियो । मकवानपुरगढी गाउँपालिकाका अनुसार उक्त टिपरको पहिले विल विजक जारी नगरेपनि केही समयपछि कागजपत्र पुर्याएकाले टिपरहरु छाडिएको छ, तर प्रहरीले नियन्त्रणमा लिइसकेपछि भीसीटीएस समेत केही समयपछि लिएर आएकाले बिल बिजक फर्जी रहेको भन्दै टिपर प्रहरीले छाड्न मानेको थिएन ।
गढी गाउँपालिकाले उक्त टिपर छाडिदिएपछि पुनः हेटौंडा उपमहानगर पालिकाले तीनवटै टिपर नियन्त्रणमा लिएको छ । आश्चर्यको कुरा के भने, पञ्चकन्या खानीबाट खानीजन्य पदार्थ उत्खनन्का लागि ललितपुर ३ मा रहेको पञ्चकन्या सिमेन्ट प्रालिलाई खानी तथा भूगर्भ विभागले स्वीकृति दिएको छ, त्यहाँबाट उत्खनन् भएका खानीजन्य पदार्थ विक्रि वितरण गर्न पञ्चकन्या सिमेन्ट प्रा लि लाई मात्र अधिकार छ, तर उक्त टिपर प्रहरीले नियन्त्रणमा लिएपछि हतार हतार हेटौँडा ४ कमलडाँडा ठेगाना रहेको श्री लक्ष्मी ट्रेडिङ हाउसले भ्याट बिल जारी गरी हेटौंडाकै हिमालयन माइक्रोन भन्ने फ्याक्ट्रीलाई उक्त ढुङ्गा बेचेको बिल जारी गरिएको छ ।
त्यस्तै प्रहरीले नियन्त्रणमा लिएपछि श्री लक्ष्मी ट्रेडिङ हाउस हेटौंडा ४ बाटै भीसीटीएस जारी गरिएको देखाइएको छ । फागुन ११ गते १२ बजेर ३० मिनेट जाँदा भीसीटीएस जारी गरिएको छ । सामान्य बिल बिजक र तौलसमेत नगरी ल्याइएको टिपर प्रहरीले नियन्त्रणमा लिएपछि यो कुरा बाहिरिएको हो ।
कुनै पनि नदीजन्य पदार्थ एवं खानीजन्य पदार्थ उत्खनन पश्चात सम्बन्धित खानीमै रहेको तौल पुलमा नापतौल गरी बिल बिजक, अथवा भिसिटिएस जारी गरी सम्बन्धित अनुमति प्राप्त कम्पनीले भ्याट बिल जारी गरी स्थानीय पालिकालाई बुझाउनुपर्ने कर र अन्य निकासी कर भुक्तान गरी मात्र यस्ता पदार्थको बिक्रीवितरण गर्न पाइने प्रावधान रहेको छ, तर मकवानपुरमा भने मनलाग्दी खानी उत्खनन् गरी तौल नै नगरी ओभरलोड र राज्यको कर समेत नतिरी चोर बाटो प्रयोग गरी खानीजन्य पदार्थको चोरी निकासी हुने गरेको छ ।
यस विषयमा मकवानपुरगढी गाउँपालिकाले खानी तथा भूगर्भ विभागलाई समेत जानकारी गराएको बताएको छ । गढी गाउँपालिकाका प्रशासकीय प्रमुख सुधन लामिछानेले शिवम् सिमेन्ट उद्योगमा जाने भनिएको चुनढुङ्गा अन्यत्र निकासी हुने गरेको बारे र प्रहरीले नियन्त्रणमा लिएको टिपर बारे आफूले खानी विभागलाई पत्राचार गरेको उनले बताएका छन् ।
‘हामीले हाम्रो क्षेत्राधिकार भित्र रहेको कुरा मात्र गर्ने हो, यसबारे खानी तथा भूगर्भ विभागले हेर्ने भएकाले हामीले गत आइतबार विभागलाई जानकारी गराएको र पत्राचार गरेका छौं’, उनले हेटौंडा खबरलाई बताए ।
उता खानी तथा भूगर्भ विभागले पनि यस सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । शिवम् सिमेन्टका लागि भनेर चोर बाटो प्रयोग गरी राजस्व छली अन्यत्रै निकासी भइरहेको चुनढुंगाका विषयमा उजुरीसमेत परेको र अन्य खानीबाट ल्याइएका खानीजन्य पदार्थको विषयमा पनि आफूहरुमा जानकारी आएकाले तत्काल यसबारे प्रक्रिया अगाडि बढाउने खानी तथा भूगर्भ विभागका सूचना अधिकारीसमेत रहेका नारायण बास्कोटाले हेटौंडा खबरलाई जानकारी दिए ।
उनका अनुसार प्रक्रिया अगाडि बढाएर जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत अनुगमन गरी थप कारवाही प्रक्रिया अगाडि बढाइने छ ।
यसरी चोरी निकासी हुने गरेको टिपर प्रहरीले नियन्त्रणमा लिएपछि राजनीतिक दलका नेताले प्रहरीलाई धम्की समेत दिने गरेका छन् । कुनै पनि टिपर नियन्त्रणमा लिने बित्तिकै राजनीतिक दलको नेताको फोन आउने प्रहरी स्रोतलर बताएको छ । केही दिनअघि देखि प्रहरीले टिपर नियन्त्रण गर्न थालेपछि माथिल्लो ओहोदामा रहेका राजनीतिक दलका नेताको फोन आउने गरेको र दबाब दिने गरेको प्रहरी बताउछन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया