हेटौंडाको डम्पिङ साइटमा जानाजान लगाइन्छ आगो, स्वास्थ्यमाथि ठेकेदारको खेलवाड, प्रशासनमा उजुरी
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा शहर यतिबेला प्रदुषित धुँवाको कारण अस्तव्यस्त बन्ने बनेको छ ।
हेटौंडा बजारसँगै जोडिएको फोहर फाल्ने डम्पिङ साइटमा हुने आगलागीका कारण हेटौंडाको वातावरण प्रदुषित भएको छ । फोहर उठाउने जिम्मा लिएको ठेकेदार कम्पनीले जानाजान फोहरको थुप्रोमा आगो लगाएर वातावरण प्रदुषित हुँदा हरित र सफा नगरी हेटौंडाको परिचयमै प्रश्न उठेको छ ।
हेटौंडाको राप्ती किनारमा रहेको अव्यवस्थित डम्पिङ साईटमा पटकपटक आगलागी हुँदा हेटौंँडा बजार सहित आसपासका वस्ती समेत प्रभावित भएका छन् ।
प्रत्येक हप्ता जसो यो डम्पिङ साईटमा आगो लगाइन्छ । फोहर व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीले नै फोहरको थुप्रो बढेपछि आफैले आगो लगाउने गरेको स्थानीयको आरोप छ । डम्पिङसाईटमा लागेको आगोबाट निस्केको विषाक्त धुँवाले वातावरण नै प्रदुषित बनाएको छ ।
जथाभावी फालिएको प्लास्टिक जन्य फोहरको थुप्रोमै आगोलागी हुँदा धुँवाको मुस्लोले उपमहानगरपालिका–१, १०, ११ र १२ का केही बस्ती प्रभावित हुने गरेका छन् ।
धुँवाको कारण स्कूले बालबालिका, बिरामी वृद्धवृद्धालाई सबैभन्दा बढी असर परेको छ । यसबारे उपमहानगरपालिकालाई बारम्बार जानकारी गराएपनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
डम्पिङ साईट नजिक धार्मिक तथा पर्यटकीय स्थल कुष्माण्ड सरोवर पनि छ । राप्ती किनारमा अनाधिकृत फोहर विसर्जन गरेका कारण खोलामा रहेका माछा मरिरहेका छन् भने, पानी प्रदुषित हुँदा पशुचौपाया समेत रोगले थलिन थालेका छन् ।
डम्पिङ साईटसँगै कृषि वन विश्वविद्यालय पनि छ । विश्व विद्यालय हाताभित्र सयौंको संख्यानमा मृग चित्तल छन् । हेटौंडाको फोहर व्यवस्थापन गरिदै आएको डम्पिङ साइट भरिँदो छ । हालसंकलन गर्दै आएको फोहर दिनहुँ एस्काभेटर लगाएर पुर्ने काम मात्रै भएको छ, विकल्प खोजिएको छैन ।
२०७१ सालमा देशको सबैभन्दा सफा शहरको रुपमा पुरस्कृत भएको हेटौँडा अहिले फोहर व्यवस्थापन निकै जटिल बन्दा प्रदेशको राजधानीकै साख गिर्दै गएको छ ।
प्रशासनमा उजुरी
डम्पिङ साईटमा जानाजान पटकपटक आगो लगाइएपछी जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
हेटौंडा उपमहानगरपालिका-११ का वडा सदस्य विकास नेपालले हेटौंडा उपमहानगरपालिका भरको फोहोर संकलन गर्ने ठेकेदारविरुद्ध प्रशासनमा उजुरी दिएका हुन् ।
उनले फोहोर संकलन गर्ने ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि का संचालक नवराज खतिवडाले पटक-पटक आग्रह गर्दा पनि नटेरेको भन्दै प्रशासनमा उजुरी दिएका हुन् ।
उनको निवेदनमा भनिएको छ,‘विपक्षी ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि.ले हेटौंडा उपमहानगरपालिकासंग सम्झौता गरि हेटौंडाको १९ वटै वडाहरुको फोहोर संकलन तथा व्यवस्थापन गर्ने कार्यको जिम्मा लिई उक्त कार्य गर्दै आईरहेकोमा उक्त प्रा.लि.ले संकलित फोहोरहरु हेटौंडा उ.म.न.पा. वडा नं. १० स्थित राती खोला छेउको डम्पिङ्ग साईटमा डम्पिङ्ग गर्ने गरेकोमा प्लाष्टिकजन्य पुनः प्रयोग हुने फोहोरहरु छुटाई अन्य फोहोरलाई खाल्टो वनि पुर्नु पर्नेमा सो कार्य नगरि उक्त संकलित फोहोरलाई असुरक्षित रूपमा आगो लगाउने गरेको र उक्त आगोको धुँवाले वातावरण प्रदुषण भई ११ नं. वडा बासी तथा सम्पूर्ण नगरवासीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले प्रस्तुत निवेदन लिई उपस्थित भएको छु । निज विपक्षी ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि. का संचालक नमराज खतिवडालाई पटक पटक फोन सम्पर्क गरि जानकारी गराएकोमा समेत निज विपक्षीले उक्त कार्यको व्यवस्थापन नगरि आलटाल गर्दै वेवास्ता गरेको हुनाले निज विपक्षीलाई यस कार्यालयमा झिकाई आवश्यक छलफल तथा कारवाही गरि पाउँ,’
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, मुख्य खबर, रोचक, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय
प्रतिक्रिया