Techie IT
Hetauda Khabar

हेटौंडा १ जरुवाटोलमा ‘नकौली शहरी स्वास्थ्य केन्द्र’ को उद्घाटन, विशेष स्वास्थ्य अभियान सञ्चालन गर्छु- वडाध्यक्ष


हेटौंडा उपमहानगरपालिका १ को जरुवाटोलमा नवनिर्मित ‘नकौली शहरी स्वास्थ्य केन्द्र’को भवन सोमबार उद्घाटन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले नवनिर्मित नकौली ‘शहरी स्वास्थ्य केन्द्र’को उद्घाटन गरेकी हुन्  । उद्घाटन गर्दै मेयर लामाले जनतालाई स्वास्थ्य सेवा सहज बनाउन आफ्नै भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताइन् । ‘हेटौंडाको १९ वटा वडामा २२ वटा स्वास्थ्य केन्द्र बनाएर सेवा दिइरहेका छौं’, मेयर लामाले वडा नं। १, १५ र १९ नम्बर वडामा दुई÷दुई वटा स्वास्थ्य केन्द्र बनाएर सेवा प्रवाह गरिरहेको बताइन् ।

‘साविक गाविस मिलेर बनेका वडाहरुमा टाढाबाट सेवाग्राहीहरु आउन समस्या हुने भएकाले हामीले वडा नं। १ को नाकौली–बाँझोडाँडा, १५ को चिप्लेटी र १९ को ज्यामिरेमा थप केन्द्र भवन बनाएरै सेवा प्रवाह गरिरहेकाछौं’, मेयर लामाले ती केन्द्रहरुमा दैनिक सयौं सेवाग्राहीले सेवा लिइरहेको बताइन् ।

वडा नं १ का अध्यक्ष सविन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले आफूहरु नगरमा निर्वाचित भएपछिमात्रै चारवटा स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण सम्पन्न भएको बताए । ‘जहाँ जनता, त्यहाँ सेवा’ भन्ने भावनाका साथ आफूहरु स्वास्थ्य क्षेत्रमा गम्भीर भएर काम गरिरहेको उनले बताए ।

स्वास्थ्य केन्द्रबाट स–साना घाउचोटको उपचार, नेपाल सरकारबाट वितरण हुने निःशुल्क औषधी सेवा, गर्भवती परीक्षण, परिवार नियोजनका अस्थायी साधन वितरण, खोप सेवा तथा सरकारले चलाएको विशेष स्वास्थ्य अभियान सञ्चालन हुने स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख गोपालप्रसाद पोखरेल, स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी, १ नं। वडा सचिव शान्तादेवी लौडारीलगायतले स्वास्थ्य क्षेत्रमा उपमहानगरपालिकाले प्रवाह गरिरहेको सेवाको बारेमा जानकारी गराएका थिए ।


क्याटेगोरी : अन्तर्वार्ता, मुख्य खबर, विचार/ब्लग, समाचार, साहित्य, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट