सिरिन्च र ब्यान्डेजसमेत पाइदैन हेटौंडा अस्पतालको फार्मेसीमा, निशुल्क पाइने औषधि निजीबाट किन्नुपर्ने बाध्यता
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा निशुल्क पाइने औषधिसमेत नपाउने गरेको पाइएको छ ।
अस्पतालको फार्मेसीमा सामान्य सिरिन्चदेखि माक्सलगायत सर्जिकल सामाग्रीसमेत अभाव हुँदा अस्पताल आउने विरामीले सास्ती खेप्नु परेको छ ।
हेटौंडा अस्पताल प्रशासनको लापरबाहीका कारण सरकारले निशुल्क रुपमा वितरण गर्ने गरेको औषधिसमेत फार्मेसीमा उपलब्ध छैन । औषधि अभाव भएपछी केहिदिनदेखि बिरामिले अस्पतालको फार्मेसीबाट औषधि खरिद गर्न पाएका छैनन् । अत्यावश्यक र बिमाबाट प्राप्त हुने तथा निशुल्क पाइने औषधि नपाउदा आकस्मिक कक्षमा आएका बिरामीले समेत तत्काल उपचार पाउनबाट बन्चित हुने गरेका छन् ।
सामान्य औषधिका लागि पनि औषधि खरिद गर्न बाहिर मेडिकलमा जानुपर्ने भएपछी विरामीले हेटौंडा अस्पतालमा झन् दुख पाउने गरेका छन् मदन भण्डारी स्वास्थ्य विज्ञान पप्रतिष्ठानमा उपकुलपतिदेखि रजिष्ट्रारसम्म नयाँ नियुक्त भएका छन् तर नयाँ पदाधिकारी आएपछी अस्पतालको अवस्था झन् भद्रगोल बनेको अस्पतालकै कर्मचारीहरु बताउछन् ।
अस्पतालको आकस्मिक कक्षमा राति ११ बजे आइपुगेकी हेटौंडा ५ कि एक विरामीलाई निबुलेजर मास्क ल्याउन भनियो तर मास्क अस्पतालको फार्मेसीमा नपाएपछी राति निजि अस्पतालको औषधि पसलबाट उक्त मास्क किन्नु पर्यो ।
हेटौंडा-८ का एक ४५ वर्षीय विरामीलाई अस्पतालमा चेक जाँचपछि त्यहाँ कार्यरत डाक्टरले उनको हातमा औषधिको लिस्ट थमाए । उनी औषधि लिन अस्पतालकै फार्मेसीमा गए तर त्यहाँ उनले आवश्यक औषधिहरू पाएनन् । उनले भने, ‘डाक्टरले पाँच प्रकारका औषधिको लिस्ट दिएका थिए । तर, अस्पतालको फार्मेसीमा २ प्रकारको मात्रै पाएपछि निजी अस्पतालको फार्मेसीबाट थप औषधि खरिद गर्नुपर्यो’, उनले भने, ‘अस्पतालकै फार्मेसीमा औषधि नपाउँदा चर्को मूल्य तिर्नुपर्यो । सरकारले सबै प्रकारको औषधी उपलब्ध हुन्छ भने पनि मैले आवश्यक औषधि पाइरहेको छैन।’
यो उनले भोगेको समस्या मात्रै होइन उपचारका लागि अस्पताल पुग्नेहरू फार्मेसीमा आवश्यक औषधि नपाउँदा निजी फार्मेसीबाट चर्को मूल्यमा औषधि खरिद गर्न बाध्य छन् ।
त्यस्तै अन्य विरामीका लागि बिमा तथा सरकारले निशुल्क वितरण गर्ने औषधिसमेत बाहिरबाट ल्याउनु परेको र भर्ना गरेर राखेको आफ्नो विरामीका लागि अधिकांस सामान तथा औषधि फार्मेसीले बाहिर किन्न पठाउने गरेको अर्का एक बिरामी कुरुवाले बताए । ‘विपन्न वर्गका नागरिकहरूलाई निकै समस्या हुन्छ, अस्पतालको फार्मेसीमा निःशुल्क पाइने औषधिलाई निजी अस्पतालमा चर्को मूल्य तिर्नुपर्छ । आर्थिक अवस्था न्यून भएकाहरूलाई निकै समस्या हुन्छ ।’ प्रशासन यस्ता विषयमा गम्भीर हुनुपर्ने उनको सुझाव थियो ।
‘घन्टौ लाइनमा बसेर औषधि लिने बेला बाहिरबाट लिनुस यहाँ छैन भन्ने जवाफ आउछ, प्रशासनको लापरबाहीको हद नाघेको छ, कुनै औषधि पाइदैन, हेटौंडा-४ का एक बिरामीले आक्रोस व्यक्त गरे ।
निकै दिनदेखि हेटौंडा अस्पतालको फार्मेसीबाट चिकित्सकले सिफारिस गरिएको औषधि अधिकांस बाहिरबाट खरिद गर्नुपर्ने बाध्यतामा छन् बिरामीहरू ।
अस्पतालको फार्मेसीमा १० एमएलको सिरिन्च, शैल्याक्रियाका लागि चाहिने हर्निया किट, प्लास्टर गर्ने ब्यान्डेज, नेबुलाइजर मास्कलगायत सामान्य तथा अति आवस्यक सामान र औषधि पाइदैन ।
यस विषयमा फार्मेसीका कर्मचारीलाई बुझ्दा उनीहरुले औषधिको अभावबारे बाहिर भन्न नमिल्ने भन्दै डराए भने, अस्पतालका रजिष्ट्रार भिम सागर गुरागाईंलाई सम्पर्क गर्दा उनि सम्पर्कमा आउँन चाहेनन् । उता अस्पताल प्रमुख डाक्टर धिरेन्द्र गिरि पनि यस विषयमा बोल्न मानेनन् भने, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले भने औषधि खरिद गर्ने काम चलिरहेको बताए ।
सरकारी अस्पतालको फार्मेसीमा औषधिको चरम अभाव हुँदासमेत प्रशासन र सम्बन्धित व्यक्ति भने बेखबर छन् । निम्न आर्थिक अवस्था भएका विरामीले हेटौंडा अस्पतालमा उपचार गाराएर निशुल्क रुपमा पाउनुपर्ने औषधिसमेत लिन पाइरहेका छैनन्। बिमाबाट पाइने औषधिपनि बाहिर निजि क्लिनिकबाट खरिद गर्न बाध्य बनिरहेका छन् ।
यस विषयमा अस्पताल प्रशासनले भने ध्यान दिएको छैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मुख्य खबर, रोचक, समाचार, स्थानिय
प्रतिक्रिया