Techie IT
Hetauda Khabar

हेटौंडामा प्रशासनको अनुमती बिनै सडकमै खाना र मेला महोत्सव, कानुन उल्लंघन गर्नेलाई के हुन्छ कारबाही ?


कानुन विपरित र प्रशासनको पुर्वस्वीकृति बिना हेटौंडाका विभिन्न सडकमा मेला महोत्सव सुरु हुन लागेका छन् ।

सडकको सवारी आवतजावतनै प्रभावित हुनेगरी हेटौंडामा खाना तथा मेला महोत्सव संचालन गरिएको छ । हेटौंडा उपमहानगरपालिका-८ कमानेमा बीच सडकमै महोत्सव सुरु गरिएको छ भने, सडक पेटी पुरै कब्जा गरेर स्टल राखिएको छ । त्यस्तै हेटौंडा-४ हुप्रचौरको पुर्वतर्फको सडकमा खाना महोत्सवको तयारी थालिएको छ ।

प्रशासनले सडकमा मेला महोत्सवका लागि कुनैपनि स्वीकृतिनै नदिएको अवस्थामा स्थानीय पालिका र वडाकै समन्वयमा सवारी आवतजावत नै प्रभावित हुने गरी महोत्सवको तयारी गरिएको हो ।

नेपालमा सडकमा आवतजावतलाई प्रभावित गर्ने गतिविधिहरू सम्बन्धी विभिन्न ऐन तथा नियमहरू छन्। यस्ता ऐन र नियमहरूको मुख्य उद्देश्य सडक सुरक्षा सुनिश्चित गर्नु र सार्वजनिक आवागमनलाई बाधा नपुर्‍याउनु हो । नेपाल यातायात व्यवस्था ऐन, २०४९ को  धारा १२३ मा कुनै पनि व्यक्तिले सडकमा आवागमनलाई रोक्ने, अवरोध गर्ने वा सुरक्षा उल्लङ्घन गर्ने कार्य गर्न पाइँदैन भनिएको छ । त्यस्तै सार्वजनिक अपराध (नियन्त्रण) ऐन, २०२७ को धारा २ ले सार्वजनिक ठाउँमा आवतजावत रोक्ने कुनै पनि कार्य सार्वजनिक अपराध मानिन्छ भन्ने उल्लेख छ । तर हेटौंडामा भने कानुनको उल्लंघन गर्दै प्रशासनलाई नै चुनौती दिदै मेला महोत्सव सुरु गरिएको छ ।

यदि सडकमा कुनै काम, निर्माण वा गतिविधि गर्नुपर्ने भएमा स्थानीय प्रशासन, ट्राफिक प्रहरीसँग अनुमति लिनुपर्छ । कानूनको उल्लङ्घन गरेमा जरिवाना, कैद वा अन्य कानुनी कारबाही हुनेछ । तर हेटौंडामा भने हेटौंडा उपमहानगरपालिकाले सडकमै खाना महोत्सव गर्न अनुमति दिएको छ । जुन कानुन विपरित हो ।

होटल एसोसियसनको आयोजनामा हेटौंडा-४ हुप्रचौरको सडकमा खाना महोत्सवको तयारी थालिएको छ भने हेटौंडा-८ कमानेमा सडक पेटीमै स्टल राखिएको छ । मुख्य सडक नै कब्जा गरिएको छ ।

त्यस्तै सडकमा आवतजावतनै प्रभावित गरेर मेला,महोत्सव आयोजना गरे नेपाल ट्राफिक नियमावली, २०५४ पनि आकर्षित हुने देखिन्छ । यस नियमावलीको धारा ३२ मा सडकमा जुलुस, प्रदर्शन वा कुनै भेला गर्दा सम्बन्धित प्रशासन वा ट्राफिक प्रहरीको अनुमति लिनुपर्ने भनिएको छ भने, धारा ३८ मा पैदल यात्री वा सवारी साधनको आवागमन अवरुद्ध हुने कुनै पनि गतिविधि दण्डनीय छ भनि उल्लेख छ ।

सिडिओ कार्यालय र ट्राफिकले दिएको छैन अनुमति 

हेटौंडामा सडक नै कब्जा गरेर मेला तथा खाना महोत्सव गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयले अनुमति दिएको छैन । सडकमा सवारी आवतजावत प्रभावित नहुनेगरी कार्यक्रम गर्न भनिएको तर सडकमै महोत्सव गर्न कसैलाई अनुमति नदिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले बताए ।

सवारी आवतजावतलाई प्रभावित हुनेगरी कुनै गतिविधि भए प्रहरी परिचालन गरिने उनले जानकारी दिए ।

उता जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव अधिकारीले पनि सडकमा मेला महोत्सवका लागि कसैलाई अनुमति नदिएको बताएका छन् ।

कुनै व्यक्तिले घर निर्माण गर्दा वा कुनै विशेष काम गर्नुपर्ने हुँदा सामान्य केही सामान वा निर्माण सामग्री सडकमा राख्नुपर्ने भएमा सम्बन्धित प्रशासन वा निकायको पुर्व अनुमती लिनुपर्ने हुन्छ । तर हेटौंडामा सडकमा आवतजावत नै रोकेर महोत्सव हुने गरेको छ । यस्ता कानुन विपरितको कार्य गर्नका लागी पर्यटन प्रवर्धनको नाममा हेटौंडा उपमहानगरपालिका र वडा कार्यालयहरुले अनुमति दिने गरेका छन् ।

सार्वजनिक स्थान व्यवस्थापन ऐन, २०२३ ले सार्वजनिक स्थलमा अनावश्यक रूपमा अवरोध पुर्‍याउने काम गरेमा जरिवाना र कैदको व्यवस्था हुने उल्लेख गरेको छ ।

हेटौंडामा सडक कब्जा गरी गरिएको मेला महोत्सवलाई जिल्ला प्रशासन कार्यालयले रोक्छ या कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउछ, त्यो भने हेर्न बाकी छ ।

वडा आफैले निकाल्यो विज्ञप्ति 

घर नजिकैको सरकार भनेको वडा पनि हो, तर हेटौंडामा कानुन विपरितको काम गर्न वडा कार्यालयनै लागि परेको छ । हेटौंडा-८ कमानेमा सुरु भएको कमाने महोत्सवमा मुख्य सडक छेकेर महोत्सव सुरु गरिएको छ । तर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८को कार्यालयले सूचना नै निकालेर कमानेको उक्त सडक प्रयोग नगर्न भनेको छ ।

मंगलबार वडा अध्यक्ष राम कृष्ण थापाले एक सूचना जारी गर्दै मेला अवधिभर बैकल्पिक सडक प्रयोग गर्न भनेका हुन् । उनले जारी गरेको सुचनामा भनिएको छ, ‘हेटौंडा ८ कमानेको मेनरोड निमचोक देखि सागर चोक सम्म व्यापार प्रवद्वन एवंम प्रदर्शनी (कमाने महोत्सव) मेला संचालन गर्ने भएकोले उक्त सडक मार्गमा महोत्सवको व्यवस्थापन कार्य भईरहेकोले उक्त अवधि भर आफ्नो अनुकुलको वैकल्पीक बाटो प्रयोग गर्नु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ । साथै सो अबधिभर सवारी आगमनमा हुनगएको अवरोध प्रति क्षमाप्राथी छौं,’ ।

यसरी वडा कार्यालयले नै सडक बन्द गरेर मेला महोत्सव आयोजना गरी कानुनको धज्जी उडाएका छन् ।

यद्धपि सडक अवरुद्ध गर्दासमेत हालसम्म प्रशासनले कुनै कदम चालेको छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, मुख्य खबर, रोचक, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट