बुलेटमा नक्कली नम्बर प्लेट राखेर मान्छे फसाउन कुद्ने तिवारीलाई किन अनुसन्धान गर्दैन प्रहरी ?
महिला प्रायोग गरी हेटौंडाका एक पत्रकार फसाउन अर्जुन तिवारीले प्रयोग गरेको बुलेट मोटरसाइकलको नम्बर चितवनको एक स्कुटरको नम्बर संग मिलेको छ ।
नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य समेत रहेका तिवारीले प्रयोग गर्दै आएको बुलेट चोरीको भएको र नम्बर परिवर्तन गरी चलाउदै आएको बुझिएको छ ।
मंसीर १६ मा हुने हेटौंडा-१२ को उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका अर्जुन तिवारीले ३० चैत २०७९ मा प्रदेश ३-०३-००२-७९३२ नम्बरको बुलेटमा एक महिलालाई प्रलोभनमा पारी पत्रकार रमेश बन्जरालाई जबर्जस्ती करणीको झुठो मुद्दा चलाउनको लागि नक्कली वारदात स्थल बनाउन प्रयोग गरेका थिए । उनले त्यस अघिपनि उनले सोही मोटरसाइकल प्रयोग गर्थे ।
तर बन्जरालाई तिवारीले फसाएको प्रमाण र बुलेटको नम्बर सहितको समाचार संचारमाध्यममा आउन थालेपछी उनले यो मोटरसाइकल प्रयोग गर्न छाडेका छन् । अचम्मको कुरो के भने उनले चलाउने मोटरसाइकलको नम्बर चितवनको एक स्कुटरको नम्बर संग मिलेको छ । उनले प्रयोग गरेको बुलेटको नम्बर हेटौंडा स्थित यातायात कार्यालयमा चितवन घर भएका एक व्यक्तिको नाममा रहेको यामाहाको रे जेड स्कुटरको नम्बर दर्ता कायम छ ।
यसले तिवारीले प्रयोग गर्ने बुलेट चोरीको हुन सक्ने आशंका गर्न सकिन्छ भने नम्बर परिवर्तन गरी चलाएको प्रमाणित भएको छ । तर यसबारे न यातायात कार्यालयले कुनै प्रतिक्रिया जनाएको छ नत प्रहरीले नै छानबिन गरेको छ ।
नेपालको फौजदारी संहिता २०७४ को चोरीसम्बन्धी व्यवस्थामा चोरीको अपराध गर्ने व्यक्तिलाई कडा कारबाही गर्न सकिने उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाका सम्बन्धी कसुरमा चोरी गर्ने ब्यक्तीलाई २ वर्षदेखि ७ वर्षसम्म कैद र २० हजार देखि ७० हजार रुपैंया सम्म जरिवाना हुनेछ उल्लेख छ ।
त्यस्तै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा चोरी गरिएको मोटरसाइकललाई बेच्ने वा नक्कली नम्बर प्लेट लगाएर प्रयोग गर्ने प्रयास गरिए कानुनी कारबाही हुने व्यवस्था गरिएको छ । नक्कली नम्बर प्लेट राखेर सवारी चलाएमा ६ महिना कैद र ५ हजार सम्म जरिवाना हुने यस ऐनमा उल्लेख छ भने कागजात किर्ते अन्तर्गतसमेत पर्ने भएकाले थप सजायसमेत हुने कानुनी व्यवस्था छ ।
नक्कली नम्बर प्लेट भएको सवारीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर जफत गर्न सक्ने कानुनी व्यवस्था छ । तर जिल्ला प्रहरी कार्यालय मकवानपुरले आजसम्म उक्त बुलेट बाइक नियन्त्रणमा लिन सकेको छैन नत नक्कली नम्बर प्लेट राखी चलाउने तिवारीलाई अनुसन्धानको दायरामा नै ल्याएको छ ।
हुन त जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रहरी प्रमुख एसपी बामदेव गौतमले तिनै तिवारीलाई सहयोग गरेका थिए । संचारमाध्यमबाट सबै प्रमाण सार्वजनिक भइसक्दा समेत गौतमकै निर्देशनमा तिवारी र मोटरसाइकलको अनुसन्धान गरिएको थिएन । तर त्यसपछी फेरिएका प्रहरी प्रमुखले पनि यो विषयमा चासो देखाएका छैनन् ।
बागमती प्रदेश हेटौंडामा रहेको यातायात व्यवस्था कार्यालयको ढड्डामै भएको कागजातसहितको समाचार संचारमाध्यममा आएपनि प्रहरीले उक्त मोटरसाइकल चलाउने व्यक्तिलाई नियन्त्रणमा लिन सकेको छैन । यसले प्रहरीको काम कर्यब्य र कानुनी अधिकार माथिनै प्रश्न उब्जिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया