Techie IT
Hetauda Khabar

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २ दर्जन बढी घर डुबानमा


अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए ।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।

अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट