Techie IT
Hetauda Khabar

हेटौंडाको नवोदय बोर्डिङको ब्रम्हलुट, मनलाग्दी शुल्क असुली, हेरेरै मात्र बस्छ स्थानीय सरकार


संभवत हेटौंडाकै सबैभन्दा ठुलो र महङ्गो निजी विद्यालयमा पर्छ नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालय ।

हेटौंडा-४ मा रहेको यो विद्यालयमा अलि हुनेखाने वर्गका छोराछोरीले आफ्ना बालबालिका पढाउने गर्छन् । सम्मान्य तथा निम्न आए हुने अभिभावकले आफ्ना बच्चा यस स्कुलमा पढाउन सक्दैनन् । विद्यालयमा हेटौंडामा नाम कहलिएका शिक्षा सेवीको उपमा पाएका पुरण बहादुर जोशीको लगानी रहेको छ । नवोदयमा आफ्ना बच्चा भर्ना गर्न जो कोहीले पनि एकपल्ट सोच्नुपर्छ । सामान्य नोकरी र सामान्य जिविकोपार्जन गर्ने व्यक्तिले यस विद्यालयमा बच्चा भर्ना गर्ने सक्दैनन् ।

तर नियामक निकायले अनुगमन र उचित नियमन नगर्दा यस विद्यालयको मनलाग्दी यतिसम्म बढेको छ कि अहिले हुनेखाने वर्गले समेत यहाँ आफ्ना बालबालिका पढाउन धौधौ भएको छ । अत्याधिक भर्ना शुल्क र विभिन्न शिर्षकको माशिक शुल्कले यस विद्यालयले अभिभावकको ढाड सक्ने गरेको छ । हुनत निजी लगानीमा संचालित विद्यालयले आफ्नो ढंगले शिक्षण सिकाईको व्यवस्थापन र सोही अनुसारको शुल्क लिन सक्छ तर हदै सम्मको असुली धन्दा भने कसैले पनि गर्न पाउदैन । यहाँ भने नवोदयले राज्यको नियम कानुन र मापदण्डलाई लात हान्दै मनोमानी गरिरहेको छ ।

हेटौंडा शिक्षा ऐनको त कुरै छाडौं यस विद्यालयले अत्याधिक शुल्क असुलेर अभिभावकलाई हैरान बनाएको छ । विद्यालयमा आफ्ना बच्चा भर्ना गर्दा अभिभावकले आधालाख रुपैयाँ सुरुमै विद्यालयलाई चढाउनु पर्छ । त्यती मात्र होइन हरेक हप्ता अनेक कार्यक्रम र शिक्षण सिकाईका नाममा अभिभावकबाटै थप शुल्क र अनेक जिन्सी सामान खरिद गर्न लगाउछ विद्यालयले ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को दफा २८ को उपदफा ५ मा ‘विद्यालयले विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना लिईसकेपछी पुनः सोही विद्यालयले अर्को कक्षा भर्ना गर्नको लागि अन्य कुनै शुल्क लिन पाउने छैन’ भन्ने उल्लेख छ । तर उक्त प्रावधानविपरित यस विद्यालयले अन्य शिर्षक राखी चर्को शुल्क असुलेको छ । नवोदयले नर्सरी कक्षामा पढ्ने विद्यार्थी उपल्लो कक्षामा जाँदा एनुअल फी को नाममा १८ हजार बढी रकम असुल्ने गरेको छ भने त्यसभन्दा माथिकालाई सोही अनुसारले अत्याधिक बढी रकम लिने गरेको छ ।

विद्यालयले भर्ना गर्ने बेला चर्को शुल्क लिने गरेपछी आफुहरु मारमा परेको अभिभावकले गुनासो गरेका छन् । नियममा शुल्क निल नपाउने भएपनि विद्यालयले भर्ना गर्ने बेला अनेक शिर्षक राखेर रकम असुल्ने गर्दा अभिभावकलाई समस्या भएको भन्दै रकम फिर्ता गर्नुपर्ने अभिभावकहरुको माग छ ।

‘अब हाम्रो बच्चा पढाउन नसकिने भैयो, हरेक वर्ष स्कुलले अनेक शिर्षकमा बिल पठाउछ २ कक्षाको बच्चालाई आधालाख जति भर्ना गर्न लाग्छ’, हेटौंडा-४ का एक अभिभावकले गुनासो गरे ।

यसरी हरेक वर्ष नवोदय स्कूलले अभिभावकलाई ठगिरहदा सम्बन्धित निकाय भने मौन बस्ने गरेको छ । हेटौंडाका विद्यालय वर्गीकरण गर्ने र विभिन्न शिर्षकमा उठाएका रकम माशिक शुल्कमा समायोजन गर्ने बताएको हेटौंडा उपमहानगरपालिकाले यहाँका निजी विद्यालयको ठगी धन्दा देखेनदेखे झैँ गरेको छ । जसको मारमा आम अभिभावक परेका छन् । आफ्नै नियम र कानुनलाई लात्याउदासमेत यहाँका निजी विद्यालयलाई हेटौंडा उपमहानगरपालिकाले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

अभिभावक संघको आपत्ती 

हेटौंडाका निजी विद्यालयले शिर्षक परिवर्तन गरेर वर्षैपिच्छे अभिभावकक संग चर्को रकम असुल्दासमेत स्थानीय सरकारले कुनै चासो नदिनु दुखद भएको अभिभावक संघको धारणा छ । संघले पटकपटक आवाज उठाउदासमेत अनुगमन नगर्ने र अनुगमन गरेपनि विद्यालयका संचालकलाई लिएर अनुगमनमा निस्किने गरेकाले अभिभावक मारमा पर्ने गरेको संघकी जिल्ला अध्यक्ष रमिला सापकोटाले बताइन् ।

‘यसमा हाम्रो गम्भीर आपत्ति छ, हामीले पटकपटक घच्घच्याउने काम गर्दासमेत स्थानीय सरकारले बेवास्ता गरेको छ । ‘स्कुल संचालकसंग नजिक भएकाले उहाहरु प्याब्सन बोकेर अनुगमनमा निस्किनु हुन्छ सम्बन्धित निकायले कुनै चासो नदिएकाले अभिभावक मारमा परेका हुन्’,  उनले भनिन् ।

यो विषयमा तत्काल अनुगमन गरेर विद्यालयले शिर्षक परिवर्तन गरेर लिएको चर्को शुल्क फिर्ता गराउनुपर्ने उनले बताइन्  ।

यो पनि पढ्नुहोस् ।

सूचना लुकाउने हेटौंडाका थप बाह्र निजी विद्यालयलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आयोगको आदेश

सूचना लुकाउने हेटौंडाका निजी विद्यालयलाई सूचना आयोगको आदेश

रोकिएको छैन हेटौंडाका निजी विद्यालयको ठगी धन्दा, न राख्छन् सूचना अधिकारी न दिन्छन् सूचना

हेटौंडाका अधिकांस निजी विद्यालयको लुट धन्दा, अनेक शिर्षक राखेर चर्को रकम असुली, हेटौंडा उपमहानगर चुपचाप


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट