Techie IT
Hetauda Khabar

पुस ७ गतेदेखि नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने


हेटौंडा । नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने सहमति भएको छ ।

हिजो चितवन, धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।

यो वर्ष पनि आउँदो शनिवारदेखि तीन हप्ता दैनिक ४ घण्टा सडक बन्द गरेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सडक आयोजनाले यो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम गर्दै आएको छ । थप आठ वटा पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छ । काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।

तुइन खोलाको पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडि गुड्छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट