Techie IT
Hetauda Khabar

हेटौंडामा सधै ओलीको भक्तिगान गाउने कमल थापाको के होला भविष्य ?


सूर्य चिह्न लिएर मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले अचेल एमाले अध्यक्ष केपी ओलीको प्रशंसामा आफूलाई केन्द्रित छन् ।

राजनीतिक सिद्धान्त, विचार र एजेण्डासमेत फरक रहेका थापाले ओलीलाई किन आइडल बनाउने प्रयास गरिरहेका ? यो प्रश्न सबैको मनमा उब्जिएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पटक-पटक ट्विट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नै देशको हितमा रहने जिकिर गर्छन् । नाकाबन्दीविरुद्ध लड्ने र लिम्यिाधुरालाई समेटेर नक्सा जारी गर्ने आँट ओलीमा मात्रै भएको भन्दै सत्तारुढ गठबन्धनभन्दा ओली नेतृत्वकै सरकार देशको हितमा हुने भन्दै उनको तारिफ गर्छन्  । मकवानपुर क्षेत्र नम्बर–१ को विभिन्न चुनावीसभामा थापाले ओलीको प्रशंसामा लामै समय खर्चिने गरेका छन् । राष्ट्रियता बोक्न सक्ने, देशलाई संकटबाट मुक्त गर्ने, सिके राउत र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम गरेकाले ओली महान नेता भएको थापाको जिकिर छ ।

२०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका आधा दर्जन उपप्रधानमन्त्री मध्येका एक थापा ओलीप्रति प्रायः नरम नै देखिन्छन् । २०७५ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्दा पनि थापाले ओलीको खुलेआम प्रशंसा गरेका थिए ।

गत वर्षको मंसिरमा आफैले गरेको पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा आफै पराजित भएपछि सम्हालिन नसकेका थापाले आफैले गरेको प्रण र खाएको गीताको कसम बिर्सेर राप्रपा पार्टी छोडेर नयाँ पार्टी खोले। उनले आफ्नो हारको दोष पूर्वराजा ज्ञानेन्द्रमाथि थोपर्दै राजतन्त्रको मुद्दा नै त्यागे ।

मुलुक संघीय गणतन्त्रमा गएको डेढ दशकसम्म राजतन्त्रको मुद्दा बोकेर ब्याज खाइरहेका थापा एउटा पराजयबाटै विचलित भएर हार स्वीकार गर्न नसक्ने अवस्थामा पुगे । यतिबेला राजतन्त्रको मुद्दाबाट धेरै टाढा पुगिसकेका थापा आफ्नो वर्षौसम्मको पराजयको शिलशिला तोड्न एमालेकै चुनाव चिह्न लिएर मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भिड्दै छन्। यो क्षेत्र वर्षौँदेखिको वामपन्थीको गढका रुपमा परिचित छ ।

एमाले अध्यक्ष ओलीले आफ्ना नेता कार्यकर्तालाई रुष्ट बनाउँदै चुनाव चिह्नसहित थापालाई नै टिकट दिएपछि ओलीको गुणगान मज्जाले गैरहेका छन् थापाले ।

मकवानपुरे एमाले पुराना नेताको टिकट खोसिएपछी जिल्लामा देखिएको नेतृत्वप्रतिको चरम असन्तुष्टिको सोझो प्रभाव मतदानमा पनि पर्ने भएपछि ओली र समग्रमा एमालेकै भक्तिगान गाउनुको विकल्पसमेत थापासँग देखिँदैन ।

पटक-पटक पराजित भएका थापाको अहिले पनि एमालेकै भरमा चुनाव जितिहाल्छन् भन्ने बलियो आधार देखिएको छैन क्षेत्र-१ मा गठबन्धनको तर्फबाट कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डीना उनको मुख्य प्रतिष्पर्धीको रुप छीन् अर्को तर्फ दशक उनी संगै राजनीति गरेका दिपक बहादुर सिंह पनि उनको अर्को चुनौती बनेका छन्।

एकातर्फ एमाले भित्रैको अशन्तुष्ट पक्षले थापालाई मत देलान् त् ? अर्को तर्फ सूर्य चिन्हमा राप्रपा नेपालका सबैले मत हाल्लान् त् ? हेर्दा सामान्य तर प्रश्न गम्भीर छ ।

हारको इतिहास 

२०४८ को आम निर्वाचनमा मकवानपुर-१ मा कमल थापालाई नेकपा एमालेका कृष्ण दाहालले पराजित गरेका थिए। ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए। तर मकवानपुर २ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे। २०५६ मा थापा मकवानपुर-१ मा दाहालसँग पुनः पराजित भए। त्यसबेला दाहालले २० हजार ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत प्राप्त गरेका थिए। मकवानपुर-३ बाट पनि उम्मेदवारी दिएका उनी त्यहाँ पनि एमालेका वीरबहादुर लामासँग २ हजार मतान्तरले पराजित भए।

त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा थापा तेस्रो भए। २०७० को संविधानसभा निर्वाचनमा भने थापा प्रतिस्पर्धामा उत्रिएनन्। श्रीमती प्रमिला थापालाई मकवानपुर-१ बाट उम्मेदवार बनाएर आफू समानुपातिकमा बसे। समानुपातिकबाट सांसद बनेपछी उनी ओली, दाहाल र देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने।

त्यसपछि २०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर १ मै पराजित भए। ०७४ को निर्वाचनमा कांग्रेस-राप्रपाको गठबन्धनलाई माओवादी-एमाले गठबन्धका कृष्ण दाहालले करिब ६ हजार मतान्तरले थापालाई पराजित गरे। दाहालले ४० हजार ६३१ मत पाउँदा थापाले ३४ हजार ६३५ मत ल्याएका थिए।

अहिल भने थापा एमालेका उम्मेदवार छन् । एमालेबाट फुटेर गएको नेकपा एस, माओबादी र कांग्रेस अहिले एक ढिक्का बनेका छन् त्यो बेलाको माओबादी र अहिलेको नेकपा एसको मत सत्ता गठबन्धनकै उम्मेदवार तिर जान्छ यसले पनि थापाको मत जितको लागी अपुग हुने अनुमान लगाउन सकिन्छ । अर्का तर्फ राप्रपा नेता सिंहले स्थानीय तहको निर्वाचनमा ल्याएको मतलाई आधार मान्ने हो भने उनलाई कमजोर उम्मेदवारको रुपमा सोच्नु गलत हुन्छ उनको मतले पनि थापालाई थप सकसमा पुर्याउछ ।

जे होस् थापाले पछिल्लो समय लगातार दिनहू जसो एमाले अध्यक्ष ओलीको गुनगानमै आधा भाषणको समय छुट्याउने गरेका छन् । लगातार चुनाव हारेका थापालाई सुर्य चिन्ह कत्तिको फाप्छ त्यो भने मङ्सिर ४ पछी थाहा होला ओलीको गुनगानमा कुनै कन्जुस्याई नगरेका थापालाई मकवानपुर १ का जनताले मत दिन कन्जुस्याई गर्लान् कि नगर्लान् ? यसमा थापाको अबको राजनीतिक भविस्य जोडिएको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #कमल थापा, #प्रतिनिधिसभा, #मकवानपुर

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट