Techie IT
Hetauda Khabar

हेटौंडाको भुटनदेवि माबिमा हुँदै राष्ट्रिय सभा निर्वाचन, यस्तो छ बागमतीमा दलगत मतभार


हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको भुटनदेवि माबिमा आज (बिहिवार) हुँदै राष्ट्रिय सभा निर्वाचन हुँदै छ ।

निर्वाचनको नतिजा पनि आजै आउने भएको छ । यस केन्द्रमा बागमती प्रदेशबाट उम्मेदवारी दिएकाहरुका बिचमा प्रतिस्पर्धा हुने भएको छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ ।

निर्वाचनमा बागमती प्रदेशमा ५ दलले १५ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनमा बागमती प्रदेश तर्फ ४ सिटका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा महिला, अपाङ्गता, अल्पसङ्ख्यक, दलित र अन्य समूहका १–१ सिटका लागि प्रतिस्पर्धा हुनेछ ।

बागमती प्रदेश क्लस्टरको राष्ट्रिय सभा सदस्यको ४ पदको लागि गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

कुन दलबाट कसले दिएका छन् उम्मेदवारी ?

मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीको तर्फबाट घनश्याम रिजालले मनोनयन दर्ता गराएका छन्  ।

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, धुर्वराज विश्वकर्मा, रोजकुमारी चौलागाईँले मनोनयन दर्ता गराएका छन् ।

राप्रपाको तर्फबाट भने हेमजंग गुरुङ्, बालकुमारी ढल्लाकोटी, भरतमणि भट्टले मनोनयन दर्ता गराएका छन । दलित क्लस्टर तर्फ उम्मेदवार दिन आएका राप्रपाका पूर्ण बहादुर विश्वकर्मा उमेर हदका कारण उम्मेदवारी दिन पाएका थिएनन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट श्रीकृष्ण महर्जन, कृष्णलक्ष्मी दुवाल, संगीता नेपाली र हिमालयश्वर मुलले पनि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

पदावधि सकिनेमध्ये बागमती प्रदेशबाट ४ जना रहेका छन् । खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिल कुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंग बहादुर विश्वकर्माको पदावधि फागुन २० मा सकिने भएको हो ।

उक्त पदहरूमा आज निर्वाचन हुँदै छ ।

बागमती प्रदेशमा कूल प्रदेश सांसद ११० को ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ ।

यस प्रदेशमा कांग्रेसको कूल मतभार ४ हजार १३, एमालेको २ हजार ५७१, माओवादीको २ हजार १९६ मतभार रहेको छ । नेकपा एसको ५४२, राप्रपाको ७०८, हाम्रो नेपाली पार्टीको १०६, नेमकिपाको १९७ र स्वतन्त्रको १९ मतभार रहेको छ । जसमा गठबन्धनको प्रष्ट बहुमत देखिन्छ ।

बागमतीमा सत्ता गठबन्धनको मतभार ६५ प्रतिशत

११९ स्थानीय तह रहेको बागमतीमा स्थानीय तहका मतदाता २३८ हुनुपर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको पद रिक्त छ । त्यस्तै ११० प्रदेशसभा सदस्य जोड्दा यहाँ मतदाताको संख्या ३४७ हुन्छ । स्थानीय तहमा ४ हजार ५०३ र प्रदेशसभामा ५ हजार ८३० गरी बागमतीमा १० हजार ३३३ मतभार छ ।

बागमतीमा पनि मतदाता र मतभारमा कांग्रेस अगाडि छ । उससँग १४५ जना मतदाता छन् । जसमा स्थानीय तहमा १०८ र प्रदेशसभामा ३७ जना छन् । स्थानीय तहको २ हजार ५२ र प्रदेशसभाको १ हजार ९६१ गरी यहाँ कांग्रेसको मतभार ४ हजार १३ हुन्छ ।

दोस्रोमा रहेको नेकपा एमालेसँग स्थानीय तहमा ६० र प्रदेशसभामा २७ गरी ८७ जना मतदाता छन् । एमालेसँग स्थानीय तहको १ हजार १४४ र प्रदेशसभाको १ हजार ४३१ गरी जम्मा मतभार २ हजार ५७५ छ ।

तेस्रोमा नेकपा माओवादी केन्द्रसँग स्थानीय तहमा ५७ र प्रदेशसभामा २१ गरी ७८ जना मतदाता छन् । माओवादीसँग स्थानीय तहको १ हजार ८३ र प्रदेशसभाको १ हजार ११३ गरी जम्मा मतभार २ हजार १९६ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीसँग स्थानीय तहमा ९ र प्रदेशसभामा ७ गरेर १६ जना मतदाता छन् । स्थानीय तहको १७१ र प्रदेशसभाको ३७१ गरेर उससँग जम्मा मतभार ५४२ छ ।

राप्रपासँग स्थानीय तहमा एक र प्रदेशसभामा १३ गरेर १४ जना मतदाता छन् । स्थानीय तहको १९ र प्रदेशसभाको ६८९ गरेर राप्रपासँग ७०८ मतभार छ । नेपाल मजदुर किसान पार्टीसँग स्थानीय तहमा २ र प्रदेशसभामा ३ गरेर ५ जना मतदाता छन् । स्थानीय तहको ३८ र प्रदेशसभाको १५९ गरेर उसको जम्मा मतभार १९७ हुन्छ ।

त्यस्तै हाम्रो नेपाली पार्टीको प्रदेशसभामा २ जना मतदाताको मतभार १०६ हुन्छ । बागमतीमा स्वतन्त्रबाट स्थानीय तहमा एक जनामात्रै निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनको मतभार १९ छ ।

बागमतीमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको सत्ता गठबन्धन स्पष्ट बहुमतमा छ । उनीहरुको मतभार ६ हजार ७५१ पुग्नेछ । प्रतिपक्ष नेकपा एमालेसहित सत्ता बाहिर रहेका दल दलको मतभार ३ हजार ५५२ मात्रै हुन्छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट