Techie IT
Hetauda Khabar

एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन- डीना


लोकतान्त्रिक–बाम सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले संविधान, संसद् र लोकतन्त्र मास्न खोज्ने नेकपा एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताएकी छिन् ।

सोमबार हेटौंडा १० नम्बर वडाको प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उनले ५ बर्षका लागि पाएको जनमत समेत जोगाउन नसक्नेलाई फेरि मतदान गर्नु गलत हुने भन्दै गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अनुरोध गरिन् ।

‘जनताले दिएको बहुमतलाई लत्याउने, ५ बर्षका लागि प्राप्त जनादेशलाई समेत जोगाउन नसक्नेहरु फेरि अनेकन प्रलोभन र झुटो आश्वासन बाँड्न आएका छन् । अब जनता धेरै बुझ्ने भैसकेका छन्’, पूर्व जलस्रोत राज्यमन्त्री समेत रहेकी डिनाले भनिन्, ‘संविधान र मुलुक जोगाउने ५ दल एक भएर चुनावी प्रतिस्पर्धामा छौं ।

चुनावपछि पनि साझा भएरै जनताको पक्षमा काम गर्नेछौं ।’ सबैले इमानदारीपूर्वक गठबन्धनको पक्षमा मतदान गर्ने र जिताउने अभियानमा लाग्न जरुरी रहेको उनको भनाई थियो ।

मंसिरको निर्वाचनपश्चात गठबन्धनकै सरकार बन्ने दावी गर्दै उनले आफू सांसद् बन्नका लागि मात्र नभई जनताको सुखदुःखमा साथै रहन चुनावमा होमिएको बताइन् । यसपटक मतदाताको हौसला, माया र साथले जित सुनिश्चित भैसकेको दावी गर्दै उनले मतान्तर बढाउने गरी लाग्न अनुरोध गरिन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #चुनाव, #डिना, #प्रतिनिधिसभा, #मकवानपुर

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट