Techie IT
Hetauda Khabar

माघे संक्रान्तिदेखि उपत्यकामा मेलम्चीको पानी वितरण


उपत्यकामा माघे संक्रान्तिदेखि मेलम्चीको पानी वितरण हुने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार बिहीबारदेखि सुरुङमा पानी छोडिएको छ ।

गत साउनमा मेलम्ची नदीमा आएको बाढीका कारण अनिश्चित भएको मेलम्चीको पानी पुनः वितरण गर्ने गरी काम भइरहेको हो ।

बाढीका कारण बालुवा, माटो पसेको सुरुङको हाल सफाइ भइरहेको छ । शुक्रबार रातिसम्म सुरुङ सफाइको काम सकिने र १ माघबाट वितरण हुने समितिले जनाएको छ ।

‘१ माघमा पानी वितरण हुने गरी काम गरिरहेका छौँ,’ प्रवक्ता पन्तले भने, ‘अहिले सुरुङ सफा गर्ने काम भइरहेको छ । हिजो छोडिएको पानी सुन्दरीजल नै आइपुगिसकेको छ । तर, सुरुङ सफाइको काम भइरहेको छ ।

सफा हुनेबित्तिकै सुरुङमा पानी हालेर भर्छौँ ।’ समितिका अनुसार २८ पुसमा सुरुङ सफाइको काम सकिएर पानी भरिनेछ । २९ पुसमा बाँकी सबै काम हुनेछ । र, १ माघमा पानी वितरणका लागि तयारी हुनेछ ।

समितिले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बिहीबार पानी पथान्तरण गरेको थियो ।

उपत्कामा मेलम्ची ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा ३ पुसमा बसेको बैठकले आकस्मिक परिस्थितबाहेक २८ दिनको कार्यतालिका बनाएर काम गरेको थियो । समयमै काम सम्पन्न गर्न दुई सिफ्टमा जनशक्ति परिचालन भएको थियो ।

सोही दिन निर्माण व्यवसायी सिनो हाइड्रोले तत्काल काम सुरु गर्ने गरी सम्झौता भएको थियो । सिनो हाइड्रोले काम गरे पनि लागतबारे भने अझै निक्र्योल नभएको समितिले जनाएको छ । ‘हाल लागतबारे निक्र्योल भइसकेको छैन । नाँपजाँचको काम भइरहेको छ । ती काम सम्पन्न भइसकेपछि भुक्तानी हुनेछ,’ प्रवक्ता पन्तले भने ।

गत २७ र २८ साउनमा आएको बाढीले आयोजनाको हेडवर्क्स बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन सकस भएको थियो ।

बर्खा सुरु भएसँगै समितिले (असार पहिलो सातादेखि मेलम्चीको पानी बन्द गरेको थियो । यसअघि, ०७८ को १ असार र १५ साउनमा पनि मेलम्ची नदीमा आएको बाढीले हेडवर्क्स र सुरुङमा क्षति पुगेको थियो ।

हाल उपत्यकामा ४० करोड लिटर पानीको माग छ । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले हाल दैनिक १२ करोड लिटर पानी वितरण गर्दै आएको छ ।

केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर मात्रै वितरण गर्दै आएको छ । मेलम्चीको पानी आउन छाडेपछि केयुकेएलले भूमिगत पानीका स्रोत जस्तैस् बोरिङ, ट्युबेल र धाप ड्यामको पानी प्रशोधन गरेर उपत्यकावासीलाई वितरण गर्दै आएको छ ।

पाँच सय किलोमिटर मात्र नयाँ वितरण सञ्जाल

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक हजार १० किलोमिटरमध्ये हाल पाँच सय किलोमिटर नयाँ वितरण लाइनको मात्र परीक्षण भएको छ । जसका कारण धेरैजसो पुरानै वितरण सञ्जालबाट पानी वितरण हुनेछ । ‘नयाँ वितरण सञ्जाल तयारी अवस्थामा छ ।

मेलम्चीको पानी आएलगत्तै नयाँ वितरण लाइनको पनि परीक्षण हुनेछ,’ आयोजना निर्देशक राजेन्द्र सापकोटाले भने, ‘आगामी असारसम्म नयाँ वितरण लाइनको परीक्षण गरी केयुकेएललाई हस्तान्तरण गर्छौँ ।’ आयोजनाका अनुसार मेलम्चीबाट आउने १७ करोड लिटर पानी नयाँ वितरण सञ्जालबाट आपूर्ति भए उपत्यकामा पानीको समस्या धेरै हदसम्म हल हुनेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट