Techie IT
Hetauda Khabar

हेटौंडा सिमेन्ट बन्द गराउन निजि व्यवसायी सेटिङमा लागे  : एमाले सचेतक बर्तौला


हेटौंडा  । नेकपा (एमाले))का सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौँडा सिमेन्ट उद्योग बन्द गराउने खेलमा लागेको बताएका हुन्  ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन ।

राजनीतिक स्वार्थ राखेर सरकारी उद्योगको विकास हुन नसक्ने भन्दै बर्तौलाले मन्त्रीकै पार्टीको व्यक्ति पठाए पनि विज्ञताको आधारमा नियुक्ति गर्न माग गरेका हुन् । उनले सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा सरकारी उद्योगहरु धरासायी र व्यवसायिक योजना विहीन भएको दाबी गरे । उनले सम्बन्धित विषयमा विज्ञ मात्रै उद्योगहरुमा नियुक्त गर्न सरकारसँग माग गरे।

उनले हेटौँडा सिमेन्टको महाप्रवन्धक कृषिको विज्ञ भएको बताए । सरकारी उद्योगहरु बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुने गरेको उनले उल्लेख गरे । उनले अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगमा साढे दुई लाख बोरा स्टक रहेको भन्दै सरकारले बजारको व्यवस्थापन गर्न नसकेको बताए।

बर्तौलाले भने,‘सरकारको स्वामित्वमा रहेका उद्योगहरुमा नियुक्ति भएर जाने जीएम र सञ्चालक समितिको अध्यक्ष वा सञ्चालक टिम उद्योगसँग सम्बन्धि ज्ञान र अनुभवको अभाव भएका व्यक्तिहरु नियुक्ति गर्ने गरेको कारणले पनि उद्योगहरु धरासाही हुने अवस्था भयो । हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु एउटा कारण त्यो पनि हो । नार्कका विज्ञ अहिले हेटौँडा सिमेन्टको जीएम हुनुभएको छ । सम्बन्धित क्षेत्रको विज्ञ मानिस चाहिन्छ । मन्त्रीले आफ्नो पार्टीको व्यक्ति जीएम बनाएर पनि त्यो क्षेत्रको विज्ञ व्यक्ति बनाउनु पर्छ । निजी सिमेन्ट उद्योगहरु हेटौँडा सिमेन्ट उद्योगका चार वटा खानीहरु रहेका छन् ।’

‘बिशेष गरी मकवानपुरको मजुवा, भैसे,बोखरे र धादिङको खानी हेटौडा सिमेन्ट बन्द भयो भने कब्जा गर्न सकिन्छ भनेर केही राजनीतिक स्वार्थमा केही ठूला निजी उद्योग सञ्चालकहरु माथिल्लो तहको सेटिङमा लागेका छन् । नेपालको कर्मचारीतन्त्र त्यसमा जानेर वा नजानेर थाहा पाउने नपाउने गरी समावेश भएको जानकारी छ । समय आएपछि भन्नसक्छौं । उद्योग बन्द गराउन यस्तो खालको खेती हुने कुरा बेठिक छ । यस्तो विषयमा समितिले खाल गर्नुपर्छ । हेटौँडा सिमेन्ट उद्योगमा २ लाख ५० हजार बोरा सिमेन्ट स्टक छ । उपयुक्त बजारको व्यवस्थापन मन्त्रालयले किन गर्न सक्दैन ।’

उनले ३८ वर्ष पुरानो सिमेन्ट उद्योगको टेक्नोलोजी परिमार्जन नगरे निजी उद्योगसँग प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको बताए ।  १५५ विघा जग्गामा फैलिएको सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगमा थोरै लगानी गर्दा चल्ने अवस्था रहेको उनले बताए ।


क्याटेगोरी : अर्थबाणिज्य, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट