Techie IT
Hetauda Khabar

नवोदयमा नमूना संयुक्त राष्ट्रसंघीय सभा


बालबालिका खेल्न, नाच्न, गाउन मन पराउँछन् । विशेषगरी उनीहरु बाल मनोविज्ञानसँग जोडिएका क्रियाकलापहरुमा सहभागी हुन पाउँदा खुसी हुन्छन् ।

बालबालिका जिज्ञासु स्वभावका हुने भएकाले विभिन्न क्षेत्रको जानकारी प्राप्त गरी नेतृत्व र व्यक्तित्व विकास गर्न पनि उत्तीकै आतुर हुन्छन् ।

अहिले सरकारी र निजी दुवै खाले विद्यालयहरुले किताबी ज्ञानलाई मात्रै नभई बालबालिकाको अतिरिक्त क्रियाकलापमासमेत जोड दिन थालेका छन् । बालबालिकाहरु स्कुल जानुपर्दा रोएर जाने अवस्थाको क्रमशः अन्त हुँदै गएको छ । विद्यालयहरुले पनि बालबालिकाहरुको चौतर्फी विकासमा जोड दिने गरी शिक्षण सिकाइको नीति अवलम्वन गर्दै गएको पाइन्छ ।

हेटौंडा– ४ स्थित नवोदय शिशु सदन विद्यालयले बालबालिकालाई ‘विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा’ नीति अवलम्वन गरेको छ । त्यसका लागि विद्यालयले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा संवेगात्मक क्षमता विकास गर्न अतिरिक्त कृयाकलापसँगै रचनात्मक अभ्यासहरु गरिरहेको छ ।

सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र प्रयोगात्मक रुपमा परिणत गरी शिक्षामा जोड दिनुपर्ने विद्यालयका शिक्षक चन्द्रमणि रिमाल बताउँछन् । उनले बालबालिकाहरुलाई कक्षामा रटाउनुभन्दा पनि प्रयोगात्मक शैलीबाट सिकाउँदा छिटो सिक्ने र दीर्घकालसम्म सम्झिरहने अनुभव सुनाए । अहिले बालबालिकाहरु सिर्जनशील बन्दै गएको उनले बताए ।

विद्यालयले हेटौंडामा अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्याको समाधानबारे वृहत विश्लेषणसहितको नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना गरेको छ ।

विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्यलगायतका अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले वैचारिक कार्यक्रमको आयोजना गरेको हो ।
आजबाट सुरु भएको कार्यक्रम १६ गतेसम्म जारी रहने विद्यालयले जनाएको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरुको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरु र यसको सम्भावित समाधानहरुको बारेमा धारणा राख्ने मौका दिइएको छ ।

बालबालिकाहरुलाई नै विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिकामा उभ्याइएको छ । विद्यार्थीहरुले पनि राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गरिरहेको नवोदयन नमूना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिए ।

नमूना राष्ट्र संघीय सभाका लागि ७ वटा निकायहरु पहिचान गरिएको छ । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दा भिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्व निर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रम संचालन भइरहेको महासचिव खनालले बताए ।

नमूना संयुक्त राष्ट्रसंघीय सभामा विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरु परिकल्पना गरिएको छ । ती सातवटै निकायहरुको एजेन्डाहरुको पूर्वनिर्धारण गरिएको छ ।

कार्यक्रममा नवोदय शिशु सदनसहित मकवानपुरका अन्य विद्यालयका बालबालिकाहरुको पनि सहभागिता रहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट