हेटौंडामा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
हेटौंडा । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय आज सोमबार स्थापना हुँदैछ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सञ्चालन गर्न आज हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको हो ।
हेटौँडा ५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । यसैबिच निर्वाचन आयोग, नेपालले मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीलाई आजैबाट लागु हुने गरी यहाँ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते मतदान कार्यक्रम तय गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि यही पुस २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । साथै पुस २३ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन कार्यक्रम तय भएको छ ।
राष्ट्रिय सभामा रिक्त २० जना सदस्यमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ । बागमती प्रदेशबाट विभिन्न क्षेत्र ९क्लष्टर० का गरी चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुँदैछ ।
क्याटेगोरी : मुख्य खबर, स्थानिय
प्रतिक्रिया