खुल्यो दामन भ्यू टावर, २० वर्षका लागि निजी क्षेत्रलाई ठेक्का
हेटौंडा । थाहा नगरपालिकाले पर्यटकीय क्षेत्र दामनस्थित भ्यू टावर संचालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । तीन वर्षदेखि बन्द रहेको दामन भ्यू टावर पुस १ गतेदेखि २० वर्षका लागि दामन भ्यू टावर रिसोर्ट प्रालिलाई संचालनको जिम्मा दिएको हो ।
वार्षिक ५ लाख रुपैयाँ भाडामा नगरपालिकाले २० वर्षसम्म संचालनको जिम्मेवारी दिएको नगर प्रमुख विष्णु विष्टले बताए । गत मंसिर २६ गते दुवै पक्षबीच भएको सम्झौताअनुसार रिसोर्टले धरौटीबापत ५ लाख रुपैयाँ बुझाइसकेको छ भने भाडा वापतको ५ लाख आगामी वैशाखमा बुझाउने छ । हरेक ५ वर्षमा २० प्रतिशत भाडा बढाइने सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।
थाहा९४ को पर्यटकीय क्षेत्र दामनमा करिब ९ रोपनी क्षेत्रफल ओगटेको रहेको उक्त भ्यू टावरमा २ वटा टेलिस्कोपलगायत सुविधायुक्त कोठा, सभा हल र कटेज छन् । रिसोर्टले अहिले त्यहाँ मर्मतसम्भारको काम गरिरहेको छ ।
समुद्री सतहबाट २ हजार ३ सय २२ मिटर उचाईमा रहेको टावरबाट विश्वका उच्च १४ मध्ये ८ वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । त्रिभुवन राजपथ निर्माणका क्रममा विसं २०११ सालमा नक्सांकन गरिएको भ्यूटावर ०१८ सालमा निर्माण गरेको हो ।
पर्यटन मन्त्रालयअन्तर्गत रहेको यो भ्यू टावर दुई दशकसम्म सर्लाहीका एक व्यक्तिले ठेक्कामा लिएर संचालन गरेका थिए । तोकिएको ठेक्काको रकम पनि नदिएपछि सरकारले ०६५ सालमा जिल्ला विकास समिति मकवानपुरलाई ५ वर्षका लागि संचालनको जिम्मा दिएको थियो । सरकारले आठ वर्षअघि थाहा नगरपालिकालाई हस्तान्तरण गरेको भ्यू टावरमा ०७२ को भूकम्पले क्षति पुर्याएपछि नगरले मर्मत गरेको थियो ।
भ्यु टावरमा नयाँ दुरबिन जडान गरिएको छ । भ्यु टावर लगायत अन्य भौतिक संरचनाहरुको पुनः मर्मत सम्भार गर्नुपर्ने भएकोले विगत जस्तै खाने र बस्ने सुबिधा हाललाई उपलब्ध नभए पनि अहिलेको स्थितिमानै भ्यु टावर मात्र संचालनमा आउने थाहा नगरपालिका वडा नं।४ का अध्यक्ष दिपक सिङ लामाले बताए ।
प्रती ब्यक्ति टिकट खरिद गर्दा साथमा एउटा सिक्का पाईने छ र सो सिक्का दुरबिनमा ईन्सर्ट गरे पश्चात ३ मिनेट सम्म मात्र चल्ने छ । पुनः दुरबिनबाट हेर्न मन लागेमा अर्को नयाँ सिक्का इन्सर्ट गर्नुपर्ने हुन्छ । टिकटको शुल्क भने स्थानीय,राष्ट्रिय अन्तराष्ट्रिय पर्यटकहरुको हकमा फरक फरक हुने बताईएको छ ।
क्याटेगोरी : मुख्य खबर, स्थानिय
प्रतिक्रिया