Techie IT
Hetauda Khabar

हेटौंडामा हाम्रो नेपाली पार्टीका उम्मेदवार दिपेन्द्र ठकुरी समूहको गुण्डागर्दी, टेलिभिजन कार्यक्रममा अवरोध


हिमालय टेलिभिजनले हेटौंडामा आयोजना गरेको निर्वाचन महासंग्राम बहस कार्यक्रममा हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुले टेलिभिजन समूह र अतिथिहरुमाथि अभद्र व्यवहार गरेका छन्  ।

आफुलाई मञ्चमा नराखेको भन्दै प्रतिनिधि सभा सदस्यमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका दिपेन्द्र चन्द ठकुरी र मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका किशोर अर्यालसहितको समूहले कार्यक्रममा अवरोध गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि समेत अवरोध हुने गरी ठकुरीको समूहले दुर्व्यवहार गरेको हो ।

प्रत्यक्ष प्रसारण भैरहेका बेला ठकुरी र उनका समर्थकले आफुलाई मन्चमा नराखेको भन्दै नारावाजीमा उत्रिएका थिए ।

कार्यक्रम प्रस्तोता बानियाँले सहभागी सबै दलका नेता, उम्मेदवार र सहभागीलाई बोल्ने अवसर दिइने बताएका थिए । तर प्रस्तोताको आग्रहलाई बेवास्ता गर्दै ठकुरीसँगै अर्याल र उनीहरुका समर्थकले अवरोध जारी राखे । उनीहरुको अवरोधकै कारण करिब ९ मिनेटपछि प्रत्यक्ष प्रसारण नै रोकेर कार्यक्रम स्थगित गरिएको थियो ।

ठकुरीले टेलिभिजन कार्यक्रम अवरोध गर्नुका साथै गम्भीर आरोप समेत लगाएका छन् । हिमालय टेलिभिजन र टेलिभिजनमा आवद्ध पत्रकारले लाखौं रुपैयाँ लिएर सीमित उम्मेदवार र पार्टीका नेतालाई मात्रै बहसमा सहभागी हुन अवसर दिएको ठकुरीले आरोप लगााएका छन् । दलाल पत्रकारिता, निरंकुश पत्रकारिता भएको भन्दै ठकुरीले लाखौं रकम लिएको आरोप लगााएका छन् ।

हेटौंडामा ठकुरीलगायतका समुह दलको उम्मेदवार भएपनि मतदातालाई प्रभावित पार्न स्वतन्त्र उम्मेदवार भन्दै चुनावी प्रचारमा छ । गएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर लौरो चिन्हबाट काठमाडौं महानगरपालिकामा बालेन्द्र साह र धरान उपमहागरपालिकामा हर्क साम्पाङ निर्वाचित भएको पृष्ठभूमिमा ठकुरी र अर्यालले सामाजिक सञ्जालमा आफ्नो पार्टीको लौरो चुनाव चिन्ह मात्रै राखेर राजनीतिक दलको नाम भने उल्लेख नगरी नागरिकलाई स्वतन्त्र हुँ भन्ने भ्रम छर्दै मतदातालाई प्रभावित पार्ने गरेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #गुण्डागर्दी, #दिपेन्द्र ठकुरी, #हिमालय टेलिभिजन

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट