Techie IT
Hetauda Khabar

हेटौंडामा रहेको निर्देशनालयमा किसानले लगाएको ताला सहमति पछि खोलियो


हेटौंडा । बागमती प्रदेश कृषि तथा पशुपंछी निर्देशनालय हेटौंडामा लगाइएको ताला खोलिएको छ ।

प्रदेश सरकारले दुधमा दिदै आएको अनुदान घटाए पछि बागमती प्रदेशमा रहेका जिल्ला दुग्ध सहकारी संघहरुले संयुक्तरूपमा निर्देशनालयमा कालो ब्यानर, धर्ना सहित ताला बन्दी गरेका थिए ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचीव राजेन्द्र कोइराला र निर्देशनलायका निर्देशक डाक्टर गौरीमान श्रेष्ठ तथा संघका प्रतिनिधिहरु बिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

उत्पादनमा आधारित प्रति लिटर अनुदानका लागि २०८० पौष १९ गते प्रकाशित सुचना बदर गर्ने, सो शिर्षकमा थप बजेटको ब्यवस्था गरि माघ २३ गतेसम्म अर्को सुचना प्रकाशन गर्ने र २०८० माघ २३ गते सम्मको लागि निर्देशनालयमा लगाएको ताला हाललाई खुला गर्ने सहमति भएको जनाइएको छ ।

प्रदेश सरकारले गत वर्ष ३० करोड विनियोजन गरि किसानलाई प्रति लिटर ३ रुपैयाँ ५६ पैसा वितरण गरेकोमा यस वर्ष घटाएर जम्मा ५ करोड मात्र छुट्याएको थियो ।

सो धर्ना तथा तालाबन्दी कार्यक्रम उपस्थित किसानहरूले दुधको भुक्तानी समयमा नपाएको भन्दै भुक्तानी नियमित हुने वातावरण बनाई दिन समेत माग गरेका थिए ।

कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा , उपाध्यक्ष भागिरथ तिमल्सिना , संचालक सदस्य बिदुर हुमागाई, चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष किशोर बगाले, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल, निवर्तमान अध्यक्ष बासुदेव अधिकारी लगायतकाको समेत उपस्थिति रहेको थियो ।

के भएको थियो ?

मकवानपुर, चितवनसहित बागमती प्रदेशका विभिन्न जिल्लाका दुग्ध उत्पादक किसानहरुले अनुदान रकम कटौती गरिएको भन्दै प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा तालाबन्दी गरी धर्ना दिएका थिए । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५–०७६ देखि दुग्ध सहकारी संसथा मार्फत किसानहरुलाई प्रतिलिटर ५० पैसा अनुदान रकम वितरणको सुरुवात गरेको थियो ।

आर्थिक वर्ष २०७९–८० सम्म आईपुग्दा उक्त रकम बढाएर प्रतिलिटर ३ रुपैयाँ ५६ पैसा पुर्याईएको थियो । जसकालागी प्रदेश सरकारले ३० करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

यस आर्थिक वर्षमा भने प्रदेश सरकारले उक्त कार्यक्रमकालागी ५ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले कार्यविधि बनाएर स्थानीय तहबाट अनुदान नलिएका र नयाँ किसानहरुलाई मात्र अनुदान रकम वितरण गर्ने सुचना प्रकाशित भएपछि किसानहरु आन्दोलित बनेका थिए । उनीहरुले प्रतिलिटर दुधमा पाउनुपर्ने अनुदान कटौती गरिएकोप्रति विरोध जनाएका थिए ।

किसानहरुले मिल्क होलिडे अन्त्यका लागि समेत प्रदेश सरकारले चासो नदिएको आरोप लगाउँदै आएका हुन् ।

किसानहरुले तालाबान्दीसहित धर्ना दिएपछि बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र कोईरालाको अध्यक्षतामा बसेको बैठकले निर्देशनालयबाट जारी भएको सूचना तत्कालकालागी स्थगन गर्ने निर्णय गरेको थियो ।

बैठकले उत्पादनमा आधारित अनुदान रकम वितरण गर्न थप बजेटकालागी पहल गर्ने निर्णय गरेपछि आन्दोलित बनेका किसानहरुले धर्ना कार्यक्रम स्थगित गरेका थिए ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट