Techie IT
Hetauda Khabar

जीर्णोद्धारपछि यस्तो देखियो एसियाकै पहिलो चुरियामाई सुरुङमार्ग (तस्बिरहरु)


हेटौंडा । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङ मार्गको जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंलाई हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग दक्षिण एसियाकै पहिलो भएको बताइन्छ । स्विस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा सुरुङ मार्गबारे स्पष्ट पार्दै चुरियामाई सुरुङ मार्ग बन्नुअघि छिमेकी देश भारतमा कुनै किसिमको सुरुङ मार्ग नबनेको उल्लेख गरेका छन् ।

churiyamai_surung_hetauda_makawanpur_चुरियामाई_सुरुङमार्ग

उनको किताबमा भएको दस्तावेजले पनि चुरियामाई सुरुङ मार्गलाई दक्षिण एसियाको पहिलो मान्न सकिन्छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको उक्त सुरुङ मार्गसँगै नेपालकै चर्चित शक्तिपीठ चुरियामाई मन्दिर पनि रहेको छ । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार गरिरहेको छ ।

ऐतिहासिक महत्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले ३६ लाख १३ हजार रुपैयाँ खर्च गरेर मर्मत गरेको छ । मर्मतपछि सुरुङ मार्ग आमनागरिकको लागि खुला गर्ने तयारी छ ।

अहिले सुरुङ मार्गभित्र बत्ती जडान गरिएको छ । सुरुङ मार्गको दुबै गेट क्षेत्रमा सजावटको काम पनि भएको छ ।

पूर्व-पश्चिम राजमार्ग निर्माणअघि भारतबाट आयातित सामग्रीलाई चुरियामाई सुरुङ मार्ग हुँदै भीमफेदीसम्म लैजाने र त्यहाँबाट मानिसले बोकेर काठमाडौंसम्म लग्ने गरिन्थ्यो ।

 

churiyamai_surung_hetauda_makawanpur_चुरियामाई_सुरुङमार्ग
churiyamai_surung_hetauda_makawanpur_चुरियामाई_सुरुङमार्ग

यस्तो छ इतिहास

यस सुरुङमार्गको डिजाइन इन्जिनियर कर्णेल डिल्लीजङ्ग थापाले १९७५ सालमा गरेका हुन् । प्रधानमन्त्री चन्द्रशमशेरको आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेना खटिएको बताइन्छ । थापा पनि नेपाली सेनाका इन्जिनियर थिए ।

उक्त सुरुङमार्गको चौडाइ ९ फिट र उँचाइ १० फिट छ । लहरी (एकप्रकारको मालबाहक सवारी साधन) छिर्ने आकारमा यसको निर्माण भएको छ ।

काठमाडौँको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु यसको उद्देश्य थियो ।’ नेपालका पहिलो सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजङ्ग थापाले डिजाइन गरेको चुरिया सुरुङ सन् १९१७मै बनेको थियो ।’ यसलाई टोनी हेगनले आफ्नो पुस्तक ‘नेपाल’मा एसियाकै पहिलो सुरुङ भएको उल्लेख गरेका छन् ।

सवारी साधन आवत–जावत गर्नका निम्ति दक्षिण एसियामै पहिलो मानव निर्मित चुरिया सुरुङ निर्माण गरिएको थियो । एक दशकभन्दा बढी यो सुरुङ हुँदै साना हलुका सवारी साधनहरू आवत–जावत गरे । मकवानपुर र बाराको सिमाना पर्ने चुरियामाई मन्दिरछेउको सुरुङ दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ भएको भूगर्भविद् टोनी हागनले आफ्नो ‘नेपाल’ मा उल्लेख गरेका छन् ।

पथलैया–हेटौँडा सडक निर्माण भएपछि यो सुरुङ सञ्चालनमा आउन छाडेको हो । करिब ७ सय मिटर लामो सुरुङ करिब सय वर्षअघि निर्माण गरिएको थियो ।

इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए । अमलेखगन्ज र भीमफेदी सडकबीचमा पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरणहरू नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो । चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाएका हुन् । सपनामा उनले त्यसै स्थानमा देवी देखेको र पूजाआजा गरेर मात्र सुरुङ खन्नू भनेकाले विधिपूर्वक पूजा गरेर सुरुङ खन्ने काम गर्नुको साथै मन्दिर पनि बनाएको छ ।

सुरुङ निर्माणका बेला ‘यस क्षेत्रका बासिन्दाहरूले गीतै बनाएका थिए, ‘हाम्रा राजा क्या अक्कलदारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी ।’ भीमफेदीबाट काठमाडौँ आवत—जावत गर्न निर्मित उक्त सुरुङले त्यति बेला नेपालीहरूको जनजीवनलाई निकै सहज बनाएको थियो ।

डा। टोनी हेगनले ‘नेपाल’ मा २४ अक्टोबर १९५० का दिन मानव निर्मित सुरुङ देखेर आफू आठौँ आश्चर्यमा परेको लेखेका छन् । उक्त पुस्तकमा उनले लेखेका छन्, ‘नेपालभन्दा ठूलो भारतले पनि सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको छ ।’

तत्कालीन सडक विभागका चिफ इन्जिनियर दीप्तिजंग थापाद्वारा लिखित पुस्तकका अनुसार चिफ इन्जिनियर डिल्लीजङ्ग थापाले आफ्नो कार्यकालमा मुलुकमा १२ वटा महत्त्वपूर्ण भौतिक संरचनाको डिजाइनका साथै निर्माण गराएका थिए । चुरिया सुरुङ, हेटौँडा—काठमाडौँ रोपवे, विसं १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौँमा रहेका राणाजीहरूका दरबार, नेपालको प्रथम कार्यालय डिल्लीबजार चारखाल अड्डा, नेपालको प्रथम रेलवे जनकपुर–जयनगर रेलवे निर्माण गर्नुका साथै १९९० को भूकम्पबाट भत्केको शीतल निवासको पुनर्निर्माण गरेका थिए ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट