Techie IT
Hetauda Khabar

सरकारको अभियानले प्रतिगामीको सात्तो उड्यो : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरूको सातो गएको बताउनु भएको छ ।

समाजवादी मोर्चाले बागमती प्रदेश अन्तर्गत आइतबार हेटौँडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानले प्रतिगामीहरूको सात्तो उडेको बताउनुभएको हो ।

यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिने गरी काम सुरु गर्ने आफ्नो योजना अनुरूप भ्रष्ट्राचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

उहाँले सरकार भ्रष्ट्राचारलाई निर्मूल पार्न, सामाजिक न्याय र सुशासन कायम गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पार्नुभयो । हिजो कुशासन चलाउनेहरू अहिले सरकारले सुरु गरेको अभियानबाट आत्तिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुरु गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

सरकारको अभियानबाट आत्तिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भएर अहिले विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्मविपरीत सरकारविरुद्ध सबै खाले षड्यन्त्र र तानाबाना बुन्न तल्लीन रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

‘‘सरकारले जसरी एकपछि अर्को भ्रष्टाचार काण्डहरू खोल्दै गएको एकाथरीलाई मन परेको छैन। उनीहरू सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन्  भ्रष्टाचारका काण्ड मच्चाउनेहरू एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हड्दैन् । यसलाई अझै सशक्त ढङ्गबाट लगिने छ’’– प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट