Techie IT
Hetauda Khabar

बागमती प्रदेशमा कांग्रेस बन्यो सबैभन्दा ठूलो दल, एमालेलाई धक्का


पाँच वर्षपछिको निर्वाचनमा एमालेलाई ठूलो धक्का लागेको छ । २०७४ मा भएको निर्वाचनमा एमालेको बागमती प्रदेश सरकारमा स्पष्ट बहुमतसँगै प्रतिनिधिसभातर्फ धेरै सिट जितेको थियो । तर, एमालेले यसपटक निर्वाचनबाट पुरानो राजनीतिक उपलब्धि जोगाउन सकेन । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ पाएको कांग्रेस बागमती प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ठूलो दल बनेको हो ।

गत निर्वाचनमा एमालेले माओवादी केन्द्रसँगको गठबन्धन बनाएर निर्वाचन लडेको थियो । तर, सोही माओवादीको साथ पाएको कांग्रेसले विगतको एमालेको नतिजालाई आफ्नो पक्षमा पार्न सफल भएको छ । कांग्रेसले बागमती प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनमा सबैभन्दा धेरै सिट जित्दै ठूलो दल बनेको हो । पाँच वर्षअघिको निर्वाचनमा कांग्रेस तेस्रो थियो । बागमतीमा नेकपा माओवादी केन्द्र दोस्रो ठूलो दल थियो । कांग्रेसले पाँच वर्षपछिको निर्वाचनमा परिणामलाई ३ गुणाले बढाएको देखिएको छ ।

प्रत्यक्ष निर्वाचनतर्फ बागमतीमा एमाले तेस्रो स्थानमा खुम्चिएको छ । विगतको उपलब्धीलाई कायम राख्न नसकेको एमालेलाई सरकार गठनदेखि अन्य राजनीतिक दृष्टिकोणले धक्का लागेको छ । यसअघि स्पष्ट बहुमतसहित सरकार बनाएको एमालेले निर्वाचनमा गठबन्धन गरेको राप्रपा र अन्य साना दलसँग मिल्दा पनि बागमती प्रदेशमा सरकार बन्न सक्ने स्थिति छैन ।

बागमती प्रदेशमा प्रतिनिधिसभाको ३३ र प्रदेशसभाको ६६ वटा निर्वाचन क्षेत्र छन् । जसमा प्रदेशको एक क्षेत्रबाहेक सम्पूर्ण जिल्लाको मतगणना सकिएको छ । प्रदेशका १३ जिल्लामध्ये दोलखामा पुनःमतदान हुँदैछ । दोलखाबोहक अन्य ३२ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा कांग्रेसले १३ स्थानमा जित हात पारेको छ । २०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा ४ सिट मात्रै जितेको थियो । यो निर्वाचनमा कांग्रेसले काठमाडौंमा ५ तथा सिन्धुली, रामेछाप, रसुवा, नुवाकोट, भक्तपुर, ललितपुर, धादिङ र सिन्धुपाल्चोकमा १-१ सिट जितेको छ ।

कांग्रेसले काठमाडौंको १, ३, ४, ५ र १० नम्बर क्षेत्र, ललितपुर २, धादिङ २, नुवाकोट २, सिन्धुपाल्चोक २, सिन्धुली २ र भक्तपुर २ नम्बर क्षेत्रमा चुनाव जितेको हो । त्यस्तै, कांग्रेसले एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा र रामेछापमा पनि चुनाव जितेको छ । २०७४ मा वाम गठबन्धन हुँदा प्रदेशको आधाभन्दा बढी सिटमा जितेको एमाले भने अहिले ४ सिटमा खुम्चिएको छ । गत निर्वाचनमा एमालेले वाम गठबन्धन हुँदा प्रदेशको २१ वटा सिटमा जितेको थियो । एमाले काठमाडौं, मकवानपुर, ललितपुर, काभ्रेमा एक-एक गरी ४ स्थानमा निर्वाचित भएको छ ।

एमालेले काठमाडौं ९, मकवानपुर २, काभ्रे २ र ललितपुर २ नम्बर क्षेत्रमा जितेको छ । अघिल्लो निर्वाचनमा पहिलो बनेको एमालेलाई तेस्रो स्थानमा झार्दै राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशबाट प्रतिनिधिसभामा धेरै सिट जित्ने दोस्रो पार्टी बनेको छ । हालै गठित सो पार्टीले प्रतिनिधिसभातर्फ बागमती प्रदेशको ७ क्षेत्रमा चुनाव जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको २, ६, ७, ८, ललितपुर ३, चितवनको १ र २ नम्बर क्षेत्रमा चुनाव जितेको छ । यस्तै माओवादी केन्द्र पनि यस पटकको निर्वाचनमा ४ सिटमा सीमित भएको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले प्रदेशका ७ वटा क्षेत्रमा जितेको थियो । नेकपा माओवादी केन्द्रले सिन्धुली, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकमा एक-एक सिट गरी ४ सिट जितेको छ । माओवादीले नुवाकोट १, सिन्धुली १, काभ्रे १ र सिन्धुपाल्चोक १ मा जितेको हो ।

राप्रपाले मकवानपुर १ र चितवन ३ मा चुनाव जितेको छ भने एकीकृत समाजवादीले धादिङ १ मा चुनाव जितेको छ । यस्तै, नेपाल मजदुर किसान पार्टीले विगतको आफ्नो विरासत जोगाउँदै भक्तपुर १ मा जित निकाल्न सफल भएको छ । बागमती प्रदेशसभा अन्तर्गतका १३ जिल्लाका प्रदेशसभातर्फको ६६ निर्वाचन क्षेत्रमध्ये दोलखाको दुई क्षेत्रबाहेक ६४ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ । हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार बागमती प्रदेशको प्रदेशसभामा कांग्रेसले सबैभन्दा बढी सिट जितेको छ ।

कांग्रेसले २४ सिट जित्दा माओवादी केन्द्र १४ सिटसहित दोस्रो स्थानमा रहेको छ । एमालेले १२ सिटमा जित हात पारेको छ । २०७४ को निर्वाचनमा बागमती प्रदेशमा एमाले सबैभन्दा ठूलो दलका रूपमा रहेको थियो । प्रत्यक्षतर्फ नै ४२ सिटमा जित हात पारेको एमाले समानुपातिकसहित ५९ सांसद्सहित स्पष्ट बहुमतमा रहेको थियो । तत्कालीन समयमा वाम एकता गरेर चुनाव लडेको एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ ४२ र १७ सिट जित्दा कांग्रेस ७ सिटमा सीमित बनेको थियो ।

गत निर्वाचनमा कांग्रेसले काठमाडौंको ४ वटा क्षेत्र, मकवानपुर, रसुवा र सिन्धुलीको एक क्षेत्रमात्र जित्न सकेको थियो । यो पटको निर्वाचनमा भने एमाले खुम्चिएको छ । २०७४ मा वाम गठबन्धनमा रहेको अर्को दल माओवादी केन्द्रले २०७४ को निर्वाचनमा १७ स्थानमा जितेको थियो । यो निर्वाचनमा भने माओवादी केन्द्रले १४ वटा क्षेत्रमा जित निकालेको छ । यस्तै, राप्रपाले ७ सिट, नेकपा एकीकृत समाजवादीले ५ सिट, हाम्रो नेपाली पार्टी र नेमकिपाले १-१ सिट जितेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट