Techie IT
Hetauda Khabar

मकवानपुरको सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री, खटिए २९ सय कर्मचारी ३५ सय सुरक्षाकर्मी


आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्‍याइएको छ । एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति खटिएका छन् ।

मकवानपुरका पनि सबै मतदान स्थलमा मतदान सामाग्री पुगेको मुख्य जिल्ला निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाका केही केन्द्रका मतपत्रबाहेक अन्य सबै ठाउँमा निर्वाचन सामाग्री पुगिसकेको उनले बताए ।

जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो । मकवानपुरको १६७ मतदान स्थल र ३६४ केन्द्रका लागी २९ सय १८ कर्मचारी खटिएका छन् । जसमा ३६६ जना सहायक निर्वाचन अधिकृत र ३६६ निर्वाचन अधिकृत रहेको निरौलाले बताए ।

निर्वाचनका लागी जिल्लाभर नेपाली सेना, नेपाल प्रहरी,म्यादी प्रहरी गरी ३ हजार ५ सय सुरक्षाकर्मी खटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए । ‘निर्वाचन शान्त,सुरक्षित् र भय रहित ढंगले सम्पन्न गर्नको लागी सुरक्षाकर्मि पुगिसकेका छन् अन्तिम तयारी हुदैंछ आज सबै बुथ निर्माण हुन्छ,’ उनले भने ।

मकवानपुरमा कुल जनसंख्या ४ लाख १९ हजार ३७७ रहेकोमा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमा १ लाख ५३ हजार ५२८ जना पुरुष छन् भने १ लाख ४७ हजार २०० जना महिला छन् ।

 

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट